बर्डफ्लु रोकथाम, उपत्यका आतंकित

काठमाडौं, मङ्सिर १४- बर्डफ्लु भेटिएको मनहरा सुकुम्बासी बस्तीमा मंगलबार बिहान शिरदेखि पैतालासम्म सेतो रङको सुरक्षा पोसाक, मास्क र चस्माले ढाकिएका प्राविधिकहरू कुखुरा मार्न व्यस्त थिए। काखेछोरा बोकेकी सनम मगर भने त्यहीँ छेउ उभिएर रमाइलो मान्दै यो दृश्य हेरिरहेकी थिइन्।
सुरक्षा पोसाक त टाढाको कुरा, उनले मास्कधरी लगाएकी थिइनन्। न उनका अढाइ वर्षे छोरा विकेशलाई नै बर्डफ्लुको जोखिमबाट सुरक्षित गराइएको थियो। झन्डै पाँच महिनादेखि यो बस्तीमा बस्दै आएकी सोलुखुम्बुकी सनमलाई बर्डफ्लुको जोखिमबारे पत्तै छैन। प्राविधिकहरूले पनि उनलाई 'नजिक नआउनू' भनेर सम्झाएनन्।
  भक्तपुर र काठमाडौंको सिमानामा पर्ने बर्डफ्लु संक्रमित क्षेत्र निर्मलीकरण गर्न खटिएका प्राविधिकका निम्ति सरकारले व्यक्तिगत सुरक्षा पोसाक (पर्सनल प्रोटेक्ट इक्युपमेन्ट) को व्यवस्था त गर्‍यो, तर त्यही क्षेत्रका स्थानीय बासिन्दाको सुरक्षातर्फ ध्यान दिएन। सनम र उनका छोरा विकेशमात्र होइन, बस्तीका थुप्रै केटाकेटी र प्रौढहरू समेत संक्रमित स्थलमा रमिता हेर्न झुम्मिएका थिए।
पशुबाट मानिसमा सर्नसक्ने बर्डफ्लु भेटिएको क्षेत्रलाई एकै दिनमा निर्मलीकरण गरेको सरकारी अधिकारीले बताए पनि सावधानीमा चुक भएको सम्बन्धित विज्ञहरू औंल्याउँछन्।
'बाक्लो बस्ती रहेको र घरपालुवा कुखुरामा बर्डफ्लु भेटिएको ठाउँमा धेरै सावधानी अपनाउनुपर्थ्यो,' सरुवा रोग विज्ञ एवं एभियन इन्फ्लुएन्जा नियन्त्रण आयोजनाका पूर्व प्रमुख डा. मानस बनर्जीले नागरिकसँग भने।
यस्तो बेला स्थानीय बासिन्दालाई सकेसम्म नजिक आउन नदिने र आउनैपरे कम्तीमा नाकमुख छोप्न लगाउनुपर्ने उनले बताए। 'प्रिकसन (सावधानी) नअपनाइकन स्थानीयलाई रमिते बनाएर नजिक बस्न दिनु बुद्धिमानी थिएन,' उनले भने, 'चल्लाहरूसँग खेल्न रमाउने बच्चाहरूको निम्ति त लापरवाही गर्नै हुँदैन थियो।'
बर्डफ्लुजस्तो रोग निर्मलीकरणमा संलग्नहरूले र छेउछाउका अरूले शरीरभरि जतिसुकै बाक्लो सुरक्षा पोसाक लगाए पनि नाकमात्रै खुल्ला राख्दा संक्रमणको डर हुने प्राविधिकहरू बताउँछन्। त्यही भएर निर्मलीकरण गर्दा 'एन ९ फाइभ' माक्स समेत लगाउने गरिन्छ।
विज्ञहरूका अनुसार सुरुमा कुखुरा भेटिएका घरधनीलाई आफूले नछोइकन खोर, कुखुरा, हाँस, अन्डा र दाना देखाउन लगाउनुपर्छ। त्यसपछि ती पंक्षी मारेर तोकिएको मापदण्डअनुसार खाल्डोमा गाडिन्छ र निश्चित औषधि हालेर त्यहाँ भएका जीवाणु नष्ट गरी सम्पूर्ण संक्रमित क्षेत्र निर्मलीकरण गरिन्छ।
मनहराको सन्दर्भमा भने निर्मलीकरण र कुखुरा मार्ने प्रक्रिया एकैपटक भयो, जसलाई विज्ञहरूलाई 'त्रुटीपूर्ण' भनेका छन्। बर्डफ्लु देखिएको ठाउँमा बंगुर, हाँस, कुखुरा, खसी, बाख्रासमेत एकै ठाउँमा पालिएकाले बढी सावधानी अपनाउनुपर्ने डा. बनर्जीले बताए।
'बाख्रा र बंगुर नमरे पनि जीवाणु रहन्छ कि रहन्न भन्ने अध्ययनै भएको छैन,' उनले भने, 'कुखुरा हाँसमा लाग्ने रोग त अरू पनि धेरै छन्, तर बर्डफ्लु मानिसमा सर्ने भएकाले बढी ध्यान गएको हो, नसरोस् भनेर सचेत हुनैपर्छ।'
पशु स्वास्थ्य निर्देशनालयका कार्यक्रम निर्देशक डा. रामकृष्ण खतिवडाले संक्रमित क्षेत्रका बासिन्दालाई हटाउनु राम्रो भए पनि बढी जनसंख्या भएकाले नसकेको बताए। रोगी कुखुराको संसर्गविना रोग सर्न नसक्ने भएकाले यस्तो गरिएको उनले उल्लेख गरे।
'चुना र भिरकन नामको केमिकल छरेर पूरै क्षेत्र निर्मलीकरण गरिसकिएको छ, अब ४२ दिनसम्म यहाँ पंक्षीहरू पाल्न दिइने छैन,' उनले भने। उक्त क्षेत्रका बासिन्दाको स्वास्थ्य परीक्षण भइसकेको र कसैमा रोगको लक्षण नभेटिएको उनले बताए।
बर्डफ्लु भेटिएको क्षेत्रमा मानिसको आवतजावत कम गराएर सुरुमा ५० घर वरपर बिरामी खोज्नुपर्ने विज्ञहरू बताउँछन्। निर्देशनालयले संक्रमित क्षेत्र वरपर २२ घर भएकाले त्यहाँ मात्रै खोजी गरेको र थप क्षेत्रमा निर्मलीकरणको आवश्यकता नदेखिएको जनाएको छ।
विज्ञहरू भने यसलाई मान्दैनन्। '५० घर वरपर बिरामी नभेटिए सय घरसम्म खोज्नुपर्छ,' एक विज्ञले भने, 'वरपरका अस्पतालमा पनि बिरामीमा देखिएका लक्षणहरूको विशेष निगरानी गर्नुपर्छ।'
यसअघि झापा, चितवनलगायत केही ठाउँमा बर्ड फ्लु भेटिए पनि काठमाडौं उपत्यकामै फेला परेको पहिलोपटक हो। सरकारले गत असार २९ गते नेपाललाई बर्डफ्लुमुक्त घोषणा गरेको थियो। बर्डफ्लु रोग नियन्त्रण आदेश २०६४ अनुसार जीवाणु देखिएको १० किलोमिटर वरपरको क्षेत्रलाई निगरानीमा राखिन्छ भने तीन किलोमिटर वरपरको क्षेत्रलाई संकटग्रस्त घोषणा गरिन्छ।
नेपालमा पहिलोपटक सन् २००९ मा बर्डफ्लु भेटिएपछि १० हजारभन्दा बढी कुखुरा तथा हाँस मारिएका थिए। त्यसपछि अधिकांश क्वारेन्टाइनमा बलियो परीक्षण संयन्त्र बनाएको भन्दै सरकारी अधिकारीहरूले सहजै नेपालमा बर्डफ्लु भित्रन नसक्ने दाबी गरेका थिए।

संक्रमित क्षेत्रका पंक्षी मारिए
पशु स्वास्थ्य विभागको प्राविधिक टोलीले बर्डफ्लु भेटिएको मनहरा क्षेत्रको सुकुम्बासी बस्तीलाई मंगलबार निर्मलीकरण गरेको छ। विभागका दसजना प्राविधिकको टोलीले उक्त क्षेत्रका कुखुरा, हाँस, तिनका अन्डा र तिनलाई खुवाउने दानासमेत नष्ट गरेको पशु स्वास्थ्य निर्देशनालयका कार्यक्रम निर्देशक डा.रामकृष्ण खतिवडाले जानकारी दिए।
मध्यपुर ठिमी नगरपालिका-१६ लोकन्थली मनहरा खोला किनारमा रहेको चन्द्रबहादुर तामाङको घरमा पालिएका कुखुरामा बर्डफ्लु भेटिएको पुष्टि भएपछि मन्त्रिपरिषद्ले सोमबार उक्त क्षेत्रलाई संकटग्रस्त घोषणा गरेको थियो। मंगलबार त्यहाँका ७३ ठूला कुखुरा, ३ वटा चल्ला, २ सय ३२ हाँस, १४ अन्डा र २ केजी दाना नष्ट गरिएको निर्देशनालयले जनाएको छ।
कात्तिक २३ र २४ गते तामाङको घरमा पालिएका ३५ कुखुरा मरेका थिए। पशु रोग अन्वेषण महाशाखाको प्रयोगशालामा परीक्षण गर्दा प्रारम्भिक रूपमा बर्डफ्लु प्रमाणित भएको थियो। लगत्तै बेलायतको वेलब्रिज ल्याब्रोटरिज नामक प्रशोगशालामा परीक्षणका लागि नमूना पठाइयो। त्यसको अन्तिम रिपोर्ट शुक्रबारै आएको भए पनि आइतबार मात्रै उच्चसरकारी अधिकारीको बैठक बसेर संकटग्रस्त क्षेत्र घोषणाको प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको थियो। मन्त्रिपरिषद्ले प्राविधिक समितिको सिफारिसका आधारमा उक्त क्षेत्रमा चारकिल्ला छेकेर संकटग्रस्त घोषणा गरी नियन्त्रण अभियान चलाउन निर्देशन दिएको थियो।
बर्डफ्लु नियन्त्रण कार्यआदेश २०६४ अनुसार यही रोगका कारण मारिएका कुखुराका धनीलाई राज्यले क्षतिपूर्ति दिने व्यवस्था छ। लेयर्स जातका कुखुराका निम्ति प्रतिकुखुरा ५ सय रुपैयाँ, ब्वालर्समा २ सय ५० र अन्य जातका लाई १ सय रुपैयाँ क्षतिपूर्ति दिने नियन्त्रण आदेशमा उल्लेख छ। मासुको प्रतिकिलो ५० र दानाको ५ रुपैयाँ तथा अन्डाको ५० पैसा क्षतिपूर्ति दिने व्यवस्था छ। यसअनुसार मंगलबारै ३९ हजार ८ सय ३२ रूपैयाँ क्षतिपूर्ति दिइएको खतिवडाले जानकारी दिए।
उनले उपत्यकाका तीनै जिल्लामा विशेष सतर्कता अपनाउने र पंक्षी तथा मानिसमा लक्षण देखिनेबित्तिकै परीक्षण गर्ने बताए।
बर्डफ्लु भनेको एभियन इन्फ्लुयन्जा टाइप ए अर्थात् एच५एन१ नामक सूक्ष्म भाइरसका कारण लाग्ने प्राणघातक रोग हो। यो पंक्षी रूघा हो। यस प्रकारका भाइरसले अतिछिट्टै आफ्नो वंशाणुगत स्वरूपमा परिवर्तन गर्नसक्ने क्षमता बोकेको हुन्छ। यस क्रममा शरीरका कोषसँग समायोजन भएर नयाँ किसिमका हानिकारक जीवाणु जन्मन्छ, जुन पशुबाट मानिसमा सर्छ। एउटा मानिसबाट अर्कोमा सरेको तथ्य भने हालसम्म भेटिएको छैन।
बर्डफ्लु संक्रमित चराहरू दस दिनपछि मर्न थाल्छन्। यस्ता चराको सम्पर्कमा आएका मानिसमा सुरूमा ज्वरो आउने, टाउको दुख्ने, रूघा लागेजस्तो हुने तर नाकबाट सिगान नबग्ने र सास फेर्न गाह्रो हुने लक्षण देखिन्छ।
यसबाट बच्न रोगग्रस्त पंक्षीबाट जोगिने, कुखुरालगायत पंक्षीको सम्पर्कमा आउँदा सावधानी अपनाउने, घरपालुवा पशुमा लक्षण देखिए तुरुन्त पशु स्वास्थ्य कार्यलयमा खबर गर्ने, कुखुरालगायत पंक्षीहरूको खोरमा काम गर्दा माक्स र पञ्चा लगाउने, संक्रमित कुखुरका अन्डा र मासु नखाने, दाना र सुली नछुनेजस्ता सावधानीका उपाय अपनाउनुपर्छ।
Tags: , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page