आईजीपी लाचार बनेपछि नेपाल प्रहरी ध्वस्त


प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका सात सय तीन प्रहरी निरीक्षकको सरुवाको लागि 'टेण्डर खोलेर' बढीबढाउमा सरुवा गरेपछि यस घटनाले नेपाल प्रहरीको छवि इतिहासमै धुमिल भएको छ भने प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाह भ्रष्ट गृहमन्त्री विजयकुमार गच्छदारको लाचार छाँया बनेका छन्। आकर्षक मानिने सबैजसो कार्यालयको सरुवामा पावर र पैसाको खेल भएको भन्दै सरुवाप्रति प्रहरीमा यति धेरै असन्तुष्टि देखिएको छ कि गृहमन्त्री गच्छदार मात्र होइन, प्रहरी महानिरीक्षक रवीन्द्र्रप्रताप शाहको पनि संगठनभित्रै खुलेरै कडा आलोचना हुन थालेको छ। 

यस सरुवाको विषयमा प्रधानमन्त्री डा.बाबुराम भट्टराईले समेत आइतबार बालुवाटारमा डाकिएका पत्रकारलाई यस विषयमा आफू गम्भीर भएको बताएका छन्। गृहमन्त्रीको रवैयाको कडा आलोचना गर्दै प्रधानमन्त्री भट्टराईले भ्रष्टाचारीमाथि औंला त ठड्याए तर तिनै कुख्यात गृहमन्त्रीको वैशाली टेकेर प्रधानमन्त्रीको पदमा पुगेका भट्टराईले भ्रष्टाचारीमाथि कारबाहीको आँट गर्लान् भन्ने विश्वास भने कसैले गरेका छैनन्।
'कागताली' परेर आईजीपी बनेका शाहले गृहमन्त्रीको औठाछाप बनेर उनकै  सिफारिसका आधारमा सरुवा गरेर प्रहरी संगठनलाई ध्वस्त बनाएको आरोप उनीमाथि लागेको छ। एसपी र डिएसपीको सरुवा तुलनात्मक रुपमा राम्रो गरेको भन्दै केही भए पनि प्रशंसा बटुलेका शाहले सात सय इन्सपेक्टरको सरुवाबाट संगठनलाई मात्र ध्वस्त बनाएका छैनन् आफ्नै छविलाई समेत ध्वस्त बनाएका छन्। एक प्रहरी अधिकारी भन्छन्, 'घुस्याहालाई जिम्मेवारी दिएर क्षमतावान् प्रहरीलाई पाखा लगाउने गरी भएको यो सरुवा उनको प्रहरीसेवाकै सबैभन्दा ठूलो गल्ती हो।' 

सात सय इन्सपेक्टरको सरुवामा ज्यादै थोरैलाई मात्र कार्यक्षमताको आधारमा सरुवा भएको छ। पैसाको बिटो बुझाउनेलाई नै पहिलो प्राथमिकतामा राखेर गृहमन्त्री गच्छदारको सिफारिसमा उनले हस्ताक्षर गरेर आफूलाई लाचार प्रहरी महानिरीक्षकको रुपमा प्रस्तुत गरेका छन्। सरुवामा गृहमन्त्रीले मात्र नभई आईजीपी शाहले समेत आर्थिक चलखेल गरेको कतिपय प्रहरीको आरोप छ।  सरुवा सूचिअनुसार इन्सपेक्टरको एक नम्बरको पोष्टिङ मानिने सोह्रखुट्टे प्रभागमा तिलक भारतीको सरुवा भएको छ। उनी अर्थमन्त्री वर्षमान पुन र माओवादी नेता कृष्णबहादुर महराको दबाबमा सोह्रखुट्टे प्रभागमा सरुवा भएका हुन्। उपत्यकाको सातदोबाटो प्रभागबाट सोह्रखृट्टेमा सरुवा हुनका लागि उनले गच्छदारलाई मात्र नभई माओवादी नेताहरूलाई पैसा बुझाएको स्रोतको दाबी छ। नेतृत्व क्षमतामा कमजोर भारतीले सोह्रखुट्टे प्रभाग चलाउन नसक्ने उनका ब्याचीहरूको टिप्पणी छ।

अर्काे आकर्षक र महत्वपूर्ण मानिने दरबारमार्ग प्रभागमा पैसा कमाउन माहिर तपन दाहालले 'टेण्डर' पारेका छन्। यसअघि सोह्रखुट्टे प्रभागमा रहँदा असक्षम भन्दै उनलाई १२ घन्टाभित्र सरुवा गरिएको थियो। सोह्रखुट्टेमा सचिव विन्दा हाडाको गाडीले एक बटुवालाई ठक्कर दिएको थियो। सचिवको गाडीले ठक्कर दिएपछि सर्वसाधरणले हाडाको गाडी तोडफोड गरी उनलाई समेत हातपात गरेका थिए। तर इन्सपेक्टर दाहाल भने मुकदर्शक बनेका थिए। सचिव हाडाले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई गुनसो गरेपछि उनको सोही दिन सरुवा भएको थियो।  सोह्रखुट्टेमा हुँदा दयानिधि ज्ञवालीजस्तै दाहालले एक करोड कमाउन सफल भएका थिए। कार्यक्षमताभन्दा पनि सोही कमाउने क्षमताको आधारमा उनलाई आईजीपी शाहले दरबारमार्ग प्रभागमा सरुवा गर्ने निर्णय गरेका हुन्। तर दाहालबाट १० लाख रुपैयाँ भने गृहमन्त्री गच्छदारका छोरा सुवासले हात पारेका छन्।   दरबारमार्ग र सोह्रखुट्टे प्रभागका इन्सपेक्टरले सो क्षेत्रभित्र पर्ने रेष्टुरेन्ट, डान्सबार र क्यासिनोबाट मासिक कम्तीमा दुई लाख रुपैयाँ अतिरिक्त रुपमा कमाउने गरेको जानकार प्रहरी अधिकारीहरूको भनाइ छ। जनसेवा प्रभागमा सरुवा भएका हेमकुमार थापा भने विवादमा नपरेका अधिकृत हुन्। प्रहरी प्रधान कार्यालयको प्रतिआतंकवाद सेलमा काम गर्दा उनी भारतीय दुतावाससँग राम्रो सम्बन्ध बनाएका थिए। उनी पनि पैसा बुझाएरै जनसेवामा सरुवा हुन सफल भएका हुन्। 

घुस्याहा इन्सपेक्टर अपिल बोहोरा पनि मोटो रकम बुझाएर गौशाला प्रभागमा दरबन्दी कायम गराउन सफल भएका छन्। गौशालाका होटलबाट उनी आफैं पैसा उठाउन जाने गरेको स्थानिय व्यवसायीहरू बताउँछन्।  दरबारमार्ग आउन खोजेका अर्का घुस्याहा इन्सपेक्टर श्याम महतो सिंहदरबारमा सरुवा भएका छन्।  गृहमन्त्री गच्छदारको सिफारिसमा   महतोको सरुवा भएको हो। उनी चन्द्रनिगाहपुरमा कार्यरत रहँदा ५०हजार घुस खाएको आरोपमा कारबाही गरेर त्यहाँबाट सरुवा भएका प्रहरी अधिकारी हुन्। त्यसैगरी सिंहदरबार प्रभागका इन्सपेक्टर सुधीरकुमार शाहीको थानकोट प्रभागमा सरुवा भएको छ। इन्सपेक्टर शाही हनुमानढोका, धरान, वडा प्रहरी कार्यालय नेपालगंज, सिंहदरबार हुदै थानकोट पुगेका हुन्। हनुमानढोकामा उनी घुस्याहा घुमुवाको रुपमा कार्यरत थिए। 

त्यसैगरी र्कीर्तिपुर प्रभागमा महानगरीय प्रहरी ट्राफिक महाशाखाका ज्ञानकुमार महतोको सरुवा भएको छ। २०६३ सालका इन्सपेक्टर महतोले कीर्तिपुर प्रभाग चलाउन नसक्ने प्रहरी अधिकारीहरू बताउँछन्। दरबारमार्ग जान लागि लागिपरेका इन्सपेक्टर किरण कुँवरलाई कमलपोखरी प्रभागमा सरुवा गरिएको छ। इन्सपेक्टर कुँवर प्रहरी महानिरीक्षक शाहका पीए हुन्। कमलपोखरीमा सरुवा गरिएकोमा कुँवर आईजीपीसँग रुष्ट भएका छन्। त्यसैगरी विगत एक वर्षदेखि पोखराको बेदाममा कार्यरत शेर बहादुर चन्दको सोही कार्यलयमा दरबन्दी कायम गरिएको छ। प्रहरी महानिरीक्षकका भतिजा कोमल शाहलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको प्रमुख बनाइएको छ।
इलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत चक्र बस्नेतको अर्को आकर्षक कार्यालय भक्तपुरको जगाती वृत्तमा सरुवा भएको छ। त्यसैगरी इप्रका बनेपामा खेम आचार्यको सरुवा भएको छ।  रक्तचन्दन तस्करीको लाइन मिलाउनका लागि गच्छादारले निकै जोड गरेर उनीहरूलाई त्यहाँ सरुवा गरेको स्रोतको दाबी छ।
आकर्षक अधिकांश कार्यालयमा भएको यस सरुवामा व्यापक रुपमा आर्थिक रुपमा चलखेल भएको छ। सोही कारण विगतमा बदनाम व्यक्तिहरूलाई पनि महत्वपूर्ण कार्यालयको जिम्मेवारी दिइएको छ। 
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page