काठमाडौँ, मङ्सिर ९ (नागरिक)- संयुक्त राष्ट्र संघको ज्वाइन्ट इन्सपेक्सन युनिटमा भारतीय उम्मेदवार ए गोपीनाथनले चिनिया प्रतिस्पर्धी झाङ यानलाई पराजित गरी पाँच वर्षे कार्यकालका लागि निर्वाचित भए पनि भारत असन्तुष्ट रहेको संस्थापन पक्ष निकट भारतीय सञ्चार माध्यमले जनाएको छ। यसको कारण हो- काठमाडौँस्थित भारतीय दूतावासको औपचारिक अनुरोधका बावजुद नेपालको परराष्ट्र मन्त्रालयले भारतीय उम्मेदवारलाई नभई चिनियाँ उम्मेदवारलाई गत सोमबार भएको निर्वाचनमा मतदान गर्नु।
संस्थापन पक्ष निकट टाइम्स अफ इन्डियाले यसलाई 'नेपालमा बढ्दो चिनियाँ प्रभाव' का रुपमा व्याख्या गरेको छ।
टाइम्स अफ इन्डियाले मतदानलगत्तै परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको साताव्यापी भ्रमणमा जानु र १० वर्षमा पहिलो पटक चिनियाँ प्रधानमन्त्रीले डिसेम्बरमा गर्न लागेको तीन दिने औपचारिक भ्रमणलाई पनि चिनियाँ प्रभावको रुपमा विश्लेषण गरेको छ।
'प्रधानमन्त्री बाबुराम भट्टराईको गत अक्टोबरमा भएको भारत भ्रमणले विश्वासको वातावरण बढाएको दावी गरे पनि नेपालको माओवादी सरकारले तत्कालीन राजा ज्ञानेन्द्र कै नीति अनुसरण गर्दै बहुपक्षीय मञ्चहरुमा भारतको साटो चीनलाई समर्थन गरिरहेको छ,' टाइम्स अफ इन्डियाले आफ्नो समाचारमा टिप्पणी गरेको छ।
यसअघि माओवादी नेतृत्वको पहिलो सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो विदेश भ्रमण चीनको गर्दा भारतले यसैगरी कुटनीतिक असन्तुष्टि जनाएको थियो।
'बाइलाइन' (समाचार लेख्नेको नाम) बिनाको सो समाचारमा कतै राष्ट्रसंघमा नेपालको व्यवहार भट्टराईको भारत भ्रमणका क्रममा भारतले देखाएको व्यवहारको यो बदला त हैन भन्ने शंका पनि गरिएको छ। समाचारमा भनिएको छ- भारतमा शिक्षित नेपाली प्रधानमन्त्रीलाई विमानस्थलमा भारतीय शिष्टाचार महापाल प्रमुखले स्वागत गरेका थिए जबकि दुई दिनपछि भुटानका राजा र रानी भारत भ्रमणमा आउँदा उनीहरुलाई राज्यमन्त्री र विदेश सचिवले स्वागत गरेका थिए।