आक्रमण गर्नेलाई काँग्रेसले छोड्दैन ः देउवा

Chitwan Daily
आक्रमण गर्नेलाई काँग्रेसले छोड्दैन ः देउवा

भरतपुर । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले तरुण दलका अध्यक्ष शिव पौडेलमाथि आक्रमण गर्नेलाई काँग्रेसले कुनै हालतमा नछाड्ने चेतावनी दिनुभएको छ । 
गम्भीर घाइते पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएपछि नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता देउवाले षड्यन्त्रपूर्ण ढंगबाट पौडेललाई फसाउनका लागि झुटा मुद्दा लगाइएको र कारागारभित्र सांघातिक आक्रमण गरिएको आरोप लगाउनुभयो । 
‘फसाउने षडयन्त्रले जेल राखियो र सांघातिक आक्रमण गराइयो’, नेता देउवाले भन्नुभयो, ‘काँग्रेस क–कसले षडयन्त्र गरेर शिवलाई यो अवस्थामा पु¥यायो उनीहरुलाई एकएक खोजी गरी छाड्ने छैन ।’ उहाँले सरकारले गठन गरेको छानविन समितिका सम्बन्धमा काँग्रेससँग कुनै सल्लाह नगरेको भनी असन्तुष्टि व्यक्त गर्नुभयो । काँग्रेसले घटनाका सम्वन्धमा आँफै अनुसन्धान गर्ने पनि देउवाले जानकारी दिनुभयो । 
‘कारागारभित्र सांघातिक आक्रमण हुँदा पनि सुरक्षा दिन नसक्नु सरकारको गम्भीर त्रुटि हो’, उहाँले भन्नुभयो, ‘घटनाका सम्बन्धमा हामी आफै छानविन गरेर वास्तविकता बाहिर सार्वजनिक गर्नेछौं ।’
यसअघि उहाँले अस्पतालका चिकित्सकहरुसँग घाइते पौडेलका अवस्थाका बारेमा जानकारी लिनुभएको थियो । उहाँले घाइते पौडेलको उपचार गरिरहेको भरतपुर मेडिकल कलेजको आईसीयू कक्षमा गएर बिरामीको स्वास्थ्य अवस्थाका बारेमा बुझ्नु भएको थियो ।
चितवन बन्द मध्यान्हपछि फिर्ता    
भरतपुर । तरुण दलका अध्यक्ष पौडेलमाथि भएको सांघातिक आक्रमणको विरोधमा नेपाली काँगे्रस चितवनले बुधबार आह्वान गरेको जिल्ला बन्द फिर्ता लिएको छ । आज बिहीबारदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनी र नवलपरासीको मुकुन्दपुरमा सञ्चालित महायज्ञलाई मध्यनजर गर्दै दिउँसो १ बजेबाट बन्द फिर्ता लिएको काँग्रेस चितवनका सचिव देवेन्द्र गुरुङले जानकारी दिनुभयो ।
उहाकाअनुसार सरकारले घटनाको छानविनका लागि केन्द्रीयस्तरबाट नै समिति गठन गरी काम सुरू गरिसकेकोले नारायणगढको पुल्चोकमा काँग्रेसले विरोधसभाको आयोजना गरी तत्कालका लागि बन्द फिर्ताको घोषणा गरेको हो । 
विरोधसभामा बोल्दै काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले सरकार र प्रशासनको निकम्मापनका कारण कारागारमा सो घटना भएको बताउनुभएको छ । उहाँले छानविन समितिप्रति अविश्वास व्यक्त गर्दै सो समितिले कस्तो प्रतिवेदन ल्याउँछ भन्ने सम्बन्धमा काँग्रेस पर्ख र हेरको नीतिमा रहने बताउनुभयो । छानविन समितिलाई जस्ताको तस्तै घटनाको बारेमा जानकारी बाहिर ल्याउन पनि उहाँले आग्रह गर्नुभयो ।
बन्द फिर्तासँगै चितवनका यातायात, कलकारखानालगायत सञ्चालन भएका छन् । यसअघि बन्दको अवज्ञा गरेको भन्दै प्रदर्शनकारीहरुले पूर्वी चितवनको टाँडीचोकमा ना ७ प ४१८ र ना ९ प ३२९२ नम्बरको मोटरसाइकल तोडफोड गरेका छन् भने चित्रवन उच्च माध्यमिक विद्यालय टाँडीमा तोडफोड गरेका छन् । 
प्रदर्शनकारीहरुले विद्यालयको १८ वटा झ्यालका सिसा फुटाएको र १ लाख रुपैयाँभन्दा बढीको क्षति भएको विद्यालय व्यवस्थापन पक्षले जनाएको छ । यस्तै प्रदर्शनकारीहरुले भरतपुरस्थित खानेपानीको कार्यालयमा तोडफोड गरेका थिए । 
नारायणगढमा ना  ४ प २५५६ नम्बरको मोटरसाइकलमा तोडफोड भएको छ । बन्दका कारण बुधबारका लागि तय भएको एक वर्षे बीएडको परीक्षा स्थगित भएको छ । 
बन्दको प्रभाव नवलपरासीमा पनि परेको छ । काँग्रेसको भातृ संगठन तरूण दल नवलपरासीले जिल्लाका विभिन्न स्थानमा यातायात ठप्प पारेको छ । बन्दको अवज्ञा गरेको भन्दै प्रदर्शनकारीले गैंडाकोटमा ना ३ ख ८६३० नम्बरको माइक्रोबस तोडफोड गरेका छन् । चितवन र नवलपरासीका विभिन्न स्थानबाट निस्केका बन्दकर्ताले पुलचोकमा जम्मा भएर प्रदर्शन गरेका थिए ।

नयाँ प्रजिअ र प्रहरी प्रमुख आए 
भरतपुर । कारागारमा कुटपिटको घटनापछि जिल्लाका प्रशासन तथा सुरक्षा निकायका प्रमुखहरु परिवर्तन भएका छन् । चितवनका प्रहरी उपरीक्षक खिनुप्रसाद आचार्य निलम्बनमा परेका र प्रजिअ बसन्तराज गौतमको सरुवापछि रिक्त रहेको सो पदमा गृहमन्त्रालयले बुधबार काज सरुवा गरेको हो ।
सरुवा भई आउनेमा गृहमन्त्रालयबाट चितवनको प्रमुख जिल्ला अधिकारीमा गणेश कार्की र प्रहरी उपरीक्षकमा भूपालकुमार भण्डारी रहेका छन् । उनीहरुले बुधबारबाटै आफ्नो कार्यभारसमेत सम्हालीसकेका छन् । दुबैले चितवन मेडिकल कलेज पुगी कारागारको कुटपिटमा घाइते भएकाहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका थिए ।

निलम्बनमा पर्नेको संख्या आठ पुग्यो      
भरतपुर । चितवनका निमित्त प्रमुख जिल्ला अधिकारी नन्दिकेशर त्रिपाठीसमेत बुधबार निलम्बनमा पर्नुभएको छ । उहाँसँगै कारागार घटनामा निलम्बनमा पर्नेको संख्या आठ पुगेको छ । यसअघि मंगलबार प्रहरी प्रमुख खिनुप्रसाद आचार्य, कारागार प्रमुख चुडामणि गौतम र कारागारका प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक शिव क्षेत्रीलाई गृहमन्त्रालयले निलम्बन गरिसकेको छ । 
यस्तै जिल्ला सुरक्षा समितिले कारागारको सुरक्षार्थ खटिएका प्रहरी जवानहरु विष्णुराम सार्की, पशुपति खतिवडा, रामबालक यादव र फेलामा तामाङलाई पनि निलम्बन गरेको छ । 
जिल्ला कारागार भरतपुरमा पुर्पक्षका लागि थुनामा रहेका तरूण दल चितवनका अध्यक्ष शिव पौडेलसहित पाँचजनामाथि आक्रमण भएपछि गृहमन्त्रालयले निमित्त प्रमुख जिल्ला अधिकारी त्रिपाठीलाई निलम्बन गरेको हो । गृहमन्त्री विजय गच्छदारले संसदमा जानकारी दिँदै निमित्त प्रजिअ त्रिपाठीसहित प्रहरी प्रमुख आचार्य, कारागार प्रमुख गौतम र कारागारका प्रहरी प्रमुख क्षेत्रीलाई निलम्बन गरेको जानकारी दिनुभएको थियो । 
घटनाको छानविनका लागि गृहमन्त्रालयका सहसचिव शंकर कोइरालाको संयोजकत्वमा गठित छानविन समितिले स्थलगत अनुसन्धान सुरू गरिसकेको छ । संयोजक कोइरालासहितको टोली अस्पताल पुगी घाइतेको अवस्थाको बारेमा जानकारी लिएर आफ्नो अनुसन्धान सुरू गरेको हो । 
सरकारले तोकेको समयसीमाभित्रै आफूहरुले अनुसन्धान सक्ने उहाँले सञ्चारकर्मीहरुसँग जानकारी दिनुभयो ।

असुरक्षित कारागार 
२०६८ म‌सिर २१
text size increase  text size decrease   Print    rss
मुलुकको शान्ति सुरक्षाको स्थिति कमजोर बन्दै गएको समयमा भरतपुर कारागारभित्र मंगलबार बिहान बन्दीहरुमाथि भएको सांघातिक आक्रमणले चितवनको सुरक्षास्थिति कति कमजोर रहेछ भन्ने कुरा स्पष्ट पारेको छ । उक्त कारागारभित्र बन्दी जीवन बिताइरहेका नेपाल तरूण दल चितवनका अध्यक्ष शिवप्रसाद पौडेलसहित पाँच जनामाथि आक्रमण भएको थियो । बन्दीहरुकै एक समूहले उक्त आक्रमण गरेको अनुमान गरिएको छ । स्थानीय प्रशासनको पनि उक्त घटनामा कारागारभित्रैका बन्दीहरुको प्रत्यक्ष संलग्नता रहेको भनाइ रहेको छ । प्रहरी र कारागार प्रशासनको मिलेमतोबिना उक्त घटना घट्नै नसक्ने स्थिति स्पष्ट देखा परेको छ । 
कारागारभित्र यति हदसम्मको असुरक्षा हुनु भनेको आफैँमा आश्चर्यको विषय बनेको छ । चितवन प्रहरीको फितलो सुरक्षा सञ्जाललाई आक्रमणकारीहरुले प्रयोग गरेर बन्दीहरुको ज्यानै लिनेसम्मको योजना बनाएको स्पष्ट भएको छ । यो घटनाले संसद्मा पनि स्थान पायो । सोही दिन गृहमन्त्रीले संसद्मा घटना निन्दनीय भन्दै छानबिन गर्न समिति गठन गरिएको जानकारी पनि दिनुभयो । चितवनमात्र नभएर यो घटनाले अन्य जिल्लाहरु समेत प्रभावित भएका छन् । सबैले यो घटनालाई निन्दनीय भनेर टिप्पणी गरिरहेका छन् । 
मुलुकको सुरक्षा संयन्त्र नै बलियो नभएको अवस्था हो यो । गृह प्रशासन फितलो र अनुभवहीन भएको कारण तल्लोतहका प्रहरीले अपराधीसँग साँठगाँठ गरेर चितवन कारागारमा उक्त घटना घटाएको हुनसक्ने अनुमान अहिले सर्वत्र गरिएको छ । तसर्थ स्थानीयस्तरमा र केन्द्रीयतहमा गठित छानबिन समितिले घटनाको वास्तविकता तत्काल पत्ता लगाएर सार्वजनिक गर्नुपर्ने आवश्यकता अहिले टड्कारो रुपमा देखिएको छ । 
प्रधानमन्त्री बाबुराम भट्टराईले पनि उक्त घटनालाई गम्भीरतापूर्वक लिएको बुझिएको छ । आफ्ना सहपाठी न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई घटना घटेकै दिन चितवन पठाएर प्रधानमन्त्रीले आफ्नो जिम्मेवारी पूरा गरेका छन् । अब चितवन कारागारको सम्पूर्ण सुरक्षा युनिटलाई त्यहाँबाट अन्यत्र लगेर कर्तव्यनिष्ट र इमान्दार प्रहरीहरु त्यहाँ लगिएन भने फेरि पनि उक्त घटना नदोहोरिएला भन्न सकिन्न । 

Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

disqus

Share this Page