कांग्रेसद्वारा आन्दोलनका कार्यक्रम फिर्ता


Congress
काठमाडौं, पुस ४ - सरकारले शिवप्रसाद पौडेललाई सहिद घोषणा तथा पौडेल र प्रमिश राईको मुद्दा फिर्तामा प्रतिबद्धता जनाएपछि कांग्रेसले आन्दोलनका सवै कार्यक्रम फिर्ता गरेको छ ।
सरकारले मुद्दा फिर्ता लिने र न्यायिक आयोगको प्रतिबेदन आएपछि सहिद घोषणा प्रक्रिया सुरु गर्ने प्रतिबद्धतासहितको विज्ञप्ती जारी गरेपछि कांग्रेसले सोमबारको बन्दसहित आन्दोलनका कार्यक्रम फिर्ता गरेको महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए ।
'मुद्दा फिर्ता नलिएसम्म र सहिद घोषणा नगरेसम्म शान्तिपूर्ण आन्दोलन भने जारी रहन्छ,' महामन्त्री सिंहले ईकान्तिपुरसित भने । आन्दोलनका कार्यक्रम फिर्ता लिएसँगै राजधानीमा फाट्टफुट्ट सवारी चल्न सुरु गरेका छन् ।
गृह प्रवक्ता शंकर कोइरालाले गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरी सरकारी प्रतिबद्धता सार्वजनिक गरेका थिए ।
सरकारी प्रतिबद्धतापछि कांग्रेसले पौडेलको शव बुझ्ने निर्णय गरेको छ । सिंहका अनुसार पौडेलको मंगलबार शिक्षण अस्पतालमा अन्तिम श्रद्धान्जली अर्पण गर्दै चितवनमा लगेर अन्तिम संस्कार गरिनेछ ।
एमाले युवा हत्या आरोपमा पुर्पक्षका लागि चितवन कारागारमा थुनिएका पौडेललाई सुतेकैबेला मंसिर २० गते कैदीले आक्रमण गरेका थिए । आक्रमणमा गम्भीर घाइने उनको उपचारकोक्रममा शनिबार मृत्यु भएको थियो ।
पौडेलको मृत्युपछि आन्दोलित कांग्रेसले घटनाको छानबिनका लागि न्यायिक आयोग गठन, दोषीहरुमागि कडा भन्दा कडा कानुनी कारबाही, जेलमा हत्या गरिएका तरुण नेता पौडेललाई सहिद घोषणा गरि क्षतिपूर्ति, पौडेल र प्रमिश राई लगायतका व्यक्तिहरु माथिको झुटा अभियोग फिर्ताको माग गरेको थियो ।
कांग्रेसका मागमध्ये शनिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्व न्यायाधीश मोहन सिटौलाको संयोजकत्वमा तीन सदस्यीय न्यायिक आयोग र परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय गरेको थियो ।
पूरा हुन बाँकी मागबारे कांग्रेसले प्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारसँग पटक-पटक वार्ता गरेको थियो ।
नेविसंघ केन्द्रीय सदस्यको अवस्था गम्भीर
यसैबीच आइतबार साँझको मसाल जुलुसबाट फर्कंदै गर्दा प्रहरी कुटाइमा घाइते नेविसंघ केन्द्रीय सदस्य उर्मिला थपलियाको अवस्था गम्भीर भएको छ ।
टाउकोमा गहिरो चोट लागेर क्यापिटल अस्पताल भर्ना भएकी थपलियाको अवस्था झन् बिग्रिएपछि पुनः शिक्षण अस्पताल लगिएको छ । उनको टाउकोमा तीन टाँचा लगाइएको छ ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page