महेन्द्रनगर, मंसिर १७ - कञ्चनपुरको दैजी गाविस - १ राजमार्ग किनारको पेट्रोल पम्प नजिक शुक्रवार साँझ प्रहरी र लुटेरा सहबीच भएको दोहोरो गोली हानाहानमा मृत्यु भएका गणेश धामी कञ्चनपुर प्रहरीको 'मोस्ट वान्टेड' सूचिका अपराधी भएको खुलासा भएको छ ।
शनिवार दिउँसो मात्रै महाकाली अञ्चल अस्पतालको पोष्टमार्टम घरमा राखिएको गणेशको शवलाई उनका वुवा करण बहादुर धामीले पहिचान गरेपछि शुक्रवार साँझको भिडन्तमा मारिएका गणेश धामी नै भएको सनाखत गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गोविन्द आचार्यले बताए । घटना मारिएका गणेश नै हुन भन्ने प्रहरीले पत्तो पाइसकेको भए पनि आफन्तहरु बिहान म्म शव बुझ्न नआएका कारण प्रहरीले गणेशको सनाखत हुन नसकेको बताउदै आएको थियो ।
'जैन हत्याकाण्डदेखि, कञ्चनपुर जेल ब्रेक र बिभिन्न लुटपाटका घटनामा गणेशको संलग्नता रहेको छ,' डिएसपी आचार्यले भने, 'उस्को खोजी भइरहेकै बेला शुक्रवार नियन्त्रणमा लिन खोज्दा मारिएको हो ।' उनले गणेश र उनको लुटेरा समुहको खोजी कार्यमा सादा पोशाकमा परिचालन गरिएका असई भंगी राना र हवल्दार प्रेम चन्दलाई खटाइएको अवस्थामा नियन्त्रणमा लिन खोज्दा गणेशले पेस्तोलले फायर गरेपछि दोहोरो गोली हाना हान हुँदा दुई जनाको मृत्यु र २ घाइते भएका हुन् ।
शुक्रवार साँझको उक्त घटनामा प्रहरी असई भंगी राना र लुटेरा समुहका नाइके गणेश धामीको मृत्यु भएको हो । प्रहरी हव्लदार प्रेम चन्द र अन्य एक जना स्थानियवासी श्रीराम डगौरा घाइते भएका थिए । प्रहरीका अनुसार हवलदार प्रेम चन्दको भारत बरेलीमा तथा श्रीरामको सेति अञ्चल अस्पतालमा उपचार भइरहेकोछ । 'दुवैको अवस्थामा सुधार भइरहेको जानकारी प्राप्त भएकोछ' डिएसपी आचार्यले भने ।
यसैबीच उक्त घटनामा मृत्यु भएका असइ रानाको शनिवार महाकाली अञ्चल अस्पतालमा पोष्टमार्टम पछि शव उनका ७० वर्षीय बुवा र भाइले बुझेका छन् ।
अस्पताल कै हातामा सुदुरपश्चिम क्षेत्रिय प्रहरी प्रमुख डिआइजि विश्वराज सिंह शाही, पूर्वमन्त्री रमेश लेखक लगायत प्रहरीका उच्च अधिकृतले दिवंगत रानाको शवमा फुलमाला चढाइ श्रध्दान्जली व्यक्त गरेका थिए ।