काठमाडौ, मंसिर १५ - युवा स्वरोजगार कोषको रकम दुरुपयोग भएको भन्दै कोषको कार्यालय अनामनगरमा ज्ञापनपत्र बुझाउन जाँदा प्रहरीले नियन्त्रणमा लिएका एमालेको भातृसंगठन युवा संघका नेता कार्यकर्तालाई रिहा गरिएको छ ।
प्रहरीले कार्यालयमा तनाव गरेका कारण पक्राउ गरेको बताएको छ भने संघले ज्ञापन पत्र बुझाउन गएको र कोषले नबुझेको बेला प्रहरीले हस्तक्षेप गरेको बताएको छ ।
कोषको रकम माओवादी कार्यकर्ता पाल्न दुरुपयो गरिएको भन्दै एमाले निकट युवा संघले बिरोध गर्दै आएको छ । तनाव बढेपछि प्रहरीले युवा संघका दर्जन बढी कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो । संघका अध्यक्ष महेश वस्नेत, महासचिव निरज आचार्य लगायतकाहरु पक्राउ परेका थिए । उनीहरु सबौलई महेन्द्र पुलिस क्लवमा राखिएको थियो । क्लवमा संघका २५ जना कार्यकर्ता थिए । प्रहरीसंगको झडपमा वस्नेत लगायतका केही कार्यकर्तालाई समान्य चोटपटक लागेको बताइएको छ ।
युवा संघले कोषका कार्यकारी उपाध्यक्ष डा.पुन्यप्रसाद रेग्मीलाई आफ्नो कार्यकक्ष बाहिर कार्यालय परिसरमा आएर वार्ता गर्न दवाब दिएका थिए । ‘उहाँहहरु मेरो कार्यकक्षमा आएर बाहिर निस्केर वार्ता गर्न दवाब दिनुभयो,मैल २/४ जना साथीहरु आएर कार्यालय कक्षमै वार्ता गरौं भनेर आग्रह गरे,’ रेग्मीले भने–‘म भीडसंग वार्ता गर्न बाहिर ननिस्केपछि उहाँहरुले तोडफोड सुरु गर्नु भो ।’
झ्यालका शिशा र केही गमला तोडफोड भएको र प्रहरीले हस्तक्षेप गरेपछि धेरै क्षति नभएको रेग्मीले बताए ।
यसैबीच प्रहरी नियन्त्रणमा रहेकाहरुको रिहाईको माग गर्दै युवा संघका कार्यकर्ता र अनेरास्वीयूले प्रदर्शनी मार्गमा प्रदर्शन गरेका छन् । उनीहरुले एउटा सरकारी गाडीमा तोडफोड समेत गरेका छन् ।
