काठमाडौं, माघ १ - प्रतिपक्षी कांग्रेस–एमालेका नेताहरुले चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको नेपाल भ्रमण चार घण्टामात्रै हुनु सरकारको नालायकीपना भएको आरोप लगाएका छन् ।
रिपोर्टर्स क्लबको आइतबारको साक्षात्कारमा कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले चीनले नेपालको लथालिङ्ग पारा र कुसंस्कारका कारण चीनले विश्वास गर्न नसकेर भ्रमण छोट्याएको आरोप लगाउँदै यसअघिको चिनियाँ प्रधानमन्त्रीको भ्रमण पनि नेपालकै कारण स्थगित भएको पुष्टि भएको दावी गरे ।
उनले भने, ‘विगतमा चिनियाँ प्रधानमन्त्री नेपालमा बस्ने परम्परा थियो तर नेपालको लथालिङ्गपना देखेर बसेनन् त्यसैले यो भ्रमणमालाई राम्रो संकेतको रुपमा मान्न सकिदैन । नेपालको बेथितिले भ्रमण छोटियो । यो हाम्रो गल्ति हो ।’
उनले भ्रमण छोटो हुँदा यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि विगारेको दावी गर्दै भने, ‘अन्तर्राष्ट्रिय स्तरमा हुने भ्रमणमा कति बस्यो, कस्तो लगायो, कस्तो खायो भन्ने विषयले पनि अर्थ राख्छ । छोटो लामो जस्तो पनि हुन सक्छ भन्नुको अर्थ छैन ।’ उनले चीनले गरेको सहयोग पुरानै प्रक्रियाको निरन्तरता भएको दावी गदै चिनको सहयोग सन्तुलित ढंगको भएको बताए ।
महतले सरकारले साना साना आयोजनाकोलागी पैसा मागेर चिनको अगाडि दरिद्रता देखाएको आरोप लगाउँदै चिनले सन्तुलित ढंगले सहयोग गरिरहदा मानसिक दरिद्रता देखाउन नहुने तर्क गरे ।
एमाले केन्द्रीय सदस्य भीम रावलले भ्रमणको सूचना गोप्य राख्नु र चिनियाँ प्रधानमन्त्रीलाई विमानस्थलबाट सिंहदरवारसम्म ल्याउँदा लगाएको अघोषित कर्फ्यू सरकारको नालायकिपन भएको आरोप लगाए । उनले सरकारले गरेको तयारीले अन्य राष्ट्रप्रमुखहरुको नेपाल भ्रमण नेपाल सरकारलाई गर्न अप्ठ्यारो पर्दो रहेछ भन्ने गलत सन्देश अन्र्तराष्ट्रिय जगतमा गएको दावी गरे ।
रावलले पाहुनाको चाहना अनुसार भ्रमण त्यसरी नै गराएको भन्नु हास्यास्पद तर्क भएको भन्दै चिनमा हुने भ्रमण यस्तो नहुने र अमेरिका जत्तिकै स्वतन्त्रपूर्ण हुने बताए ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले चीनको चाहना अनुसार नै योजनबद्ध रुपमा चिनियाँ प्रधानमन्त्रीको आकस्मिक जस्तो देखिने गरी भ्रमण भएको जानकारी दिदै भ्रमणको क्रममा कतै पनि स्वतन्त्रता र प्रजातन्त्रको हनन नभएको दावी गरे ।
पौडेलले भने, ‘चीन बढी काम गर्ने र कम प्रचार गर्न चाहने मुलुक भएकोले मित्रराष्ट्रको भावनालाई सम्बोधन गर्न उहाँहरुकै चाहना अनुसार भ्रमण गोप्य राखिएको हो ।’
चीनले नेपाल चिन र भारत मिलेर शक्तिको रुपमा स्थपित हुनु पर्ने आवश्यकता देखाएर नेपाललाई भिन्दै शक्तिको रुपमा स्विकारेको दावी गर्दै नेपालको विकासमा सहकार्य गर्दै जाने कुराले भ्रमण महत्वपूर्ण कोशेढुङा भएको बताए ।
उनले चीनको प्रधानमन्त्रीको भ्रमण सँगै अब भारतीय प्रधानमन्त्री मनमोहन सिंहको भ्रमण हुने जानकारी दिदै उपयुक्त समयमा नेपाल भ्रमणमा आउने बताए ।
उद्योग मन्त्री अनिल झाले एक दशकपछि छोटै समयको लागि भए पनि चिनियाँ प्रधानमन्त्रीले नेपालको भ्रमण गर्नु राम्रो संकेत भएको भन्दै चिनियाँ प्रधानमन्त्रीको भ्रमणले नेपालमा हुने चिनियाँ र भारतीय कार्डको प्रयोगको अन्त्य भएको दावी गरे । उनले भारत र चीनसँग नेपालले समान सम्बन्ध बनाउनु पर्ने आवश्यकता पनि भ्रमणले देखाएको प्रष्ट पारे ।
चीनबाट विप्पा सम्झौताको ड्राफ्ट आएको तर नेपालबाटै तयारी पुरा हुन नसकेको भन्दै छिट्टै चिनसँग कुटनीतिक माध्यमबाट विप्पा सम्झौता हुने जानकारी दिए ।
उनले पनि चीनको काम गर्ने तर प्रचार नचाहने स्वभावका कारण उसकैको चाहनामा भ्रमण गोप्य राखिएको बताए । उनले भने, ‘मलाई पनि भ्रमणको दिन विहान ८ बजेमात्रै औपचारिक रुपमा जानकारी पाएको हुँ ।’