भरतपुर, २ माघ
राज्य पुनःसंरचना तथा अल्पसंख्यक अधिकार विषयक क्षेत्रीयस्तरको गोष्ठी चितवनको नारायणगढमा सोमबारबाट सुरु भएको छ । दियालो परिवार नारायणगढको हलमा सुरु गोष्ठी दुई दिनसम्म चल्नेछ । चितवन, मकवानपुर, बारा र पर्सा जिल्लाका ४० जना सहभागी गोष्ठीले आगामी संविधानमा समेटिनुपर्ने राज्य पुनःसंरचना तथा अल्पसंख्यकका अधिकारका मुद्दाहरुका विषयमा निचोड निकाल्नेछ । सपोर्ट नेपाल र विकास नेपाल पर्साद्वारा आयोजित गोष्ठीमा विशेषज्ञका रुपमा संविधानसभाअन्तर्गत अल्पसंख्यक तथा सीमान्तकृत समुदायको अधिकार संरक्षण समितिका सभापति लालबाबु पण्डित सहभागी छन् । उनले आज पहिलो दिन अल्पसंख्यक र यसले ओगटेको क्षेत्र तथा आगामी संविधानले समेट्नुपर्ने अन्तरवस्तुबारे गोष्ठीमा प्रस्तुति गरेका छन् । यही विषयमा ४ जिल्लाका सहभागीहरुले भोलि समूहगत छलफल गरी निचोड निकाल्ने सपोर्ट नेपालका कार्यक्रम संयोजक राकेश कर्णले जानकारी दिए ।
गोष्ठीको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पण्डितले संविधान निर्माणमा राज्य पुनःसंरचनाको मुद्दा अत्यन्तै जटिल भएकाले प्रशस्त छलफल चलाउनुपर्ने आवश्यकता रहेको बताए । उनले संविधानको आधा हिस्सा राज्य पुनःसंरचना रहेको चर्चा गर्दै सबैलाई मान्यहुने संविधान तोकिएको मितिमा ल्याउनका लागि सबै दल गम्भीर बन्नुपर्ने बताए । कार्यक्रम सपोर्ट नेपालका कार्यक्रम संयोजक राकेश कर्णको अध्यक्षतामा सम्पन्न भएको थियो ।