प्रचण्ड फेरि प्रधानमन्त्रीको दाउमा ? 'सरकार ढाल्न विपक्षीसँग गुहार'


प्रचण्ड फेरि प्रधानमन्त्रीको दाउमा ?

'सरकार ढाल्न विपक्षीसँग गुहार'


११ माघ, काठमाण्डौ । ‘म अहिलेपनि राष्ट्रपतिभन्दा कम छैन’ भन्दै राष्ट्रपतिका लागि लोभ नगरेको बताएका माओवादी अध्यक्ष प्रचण्डका पछिल्ला गतिबिधिले उनलाई अझै प्रधानमन्त्री हुने रहर नपुगेको देखिएको छ ।
बाबुरामलाई प्रधानमन्त्री बनाउनु आफ्नो बाध्यता भएको सार्वजनिकरुपमै स्वीकार्दै आएका प्रचण्डले मोहन वैद्य पक्षसँगको मिलनसँगै दुई महिनालाई भएपनि आफैं प्रधानमन्त्री बन्ने अभियानसहित राजनीतिक चेस खेल्न थालेका छन् ।
हालै एमाले नेता माधवकुमार नेपालसँगको भेटमा अध्यक्ष प्रचण्डले सरकारको राजीनामा मागिदिन आग्रह गरेका छन् । नेता नेपालले प्रचण्डसँगको भेटपछि आफु निकटवर्तीसँग अब बाबुराम प्रधानमन्त्रीबाट हट्ने ठोकुवा गर्न थालेका छन् । नेपालसँग प्रचण्डको आग्रह थियो- ‘मैले बनाएको सरकार मैले नै ढाल्न अलिक गाह्रो भयो, जग्गाको बिषयलाई चर्काएर राजीनामा मागिदिनुपर्‍यो, त्यसका लागि तपाईले भूमिका खेल्नुपर्‍यो’ । स्रोतका अनुसार माधवकुमार नेपालले भने अहिले एमालेको प्राथमिकता सरकार नभएकाले शान्ति प्रकृया र संबिधानतिर केन्द्रीत हुन प्रचण्डलाई आग्रह गरेका थिए ।
जिल्लाबाट कार्यकर्ताको ब्यापक दबाब परेको भन्दै जनसत्ताले गरेका घरजग्गा कारोवारलाई वैधानिकता दिन प्रधानमन्त्रीलाई प्रेसर दिएका अध्यक्ष प्रचण्डले अहिले भने आफुसँग परामर्श नै नगरि प्रधानमन्त्रीले त्यस्तो निर्णय गरेको कांग्रेस नेताहरुसँग बताउने गरेका छन् । केही दिनअघि रामचन्द्र पौडेलको निवासमा भएको छलफलमा पनि प्रचण्डले कांग्रेस नेताहरुसँग एक्लै साउती गर्दै सरकार नै समस्याको कारक रहकाले त्यताधिर ध्यान दिन र जग्गासम्बन्धी निर्णयलाई चर्काउन सुझाव दिएका थिए ।
प्रचण्डलको यस्तो चाला देखेर कांग्रेस नेताहरु भने अचम्ममा परेका छन् । बाबुरामकै पालामा शान्ति प्रकृया सकिउन भन्ने चाहाना राखेको कांग्रेस त्यसपछि उनको नेतृत्वमा सरकारमा सहभागी हुने तयारीमा रहेको छ । तर प्रचण्डले आफु नै प्रधानमन्त्री हुने आशयसहित सरकार फेर्न कांग्रेससँग आग्रह गरेपछि कांग्रेस नेताहरुले ‘अहिले नै सरकारको कुरा नगरौं, पहिले शान्ति प्रकृया टुंगाउनुस’ भन्ने जवाफ दिएका छन् ।
वैद्य पक्षसँगको मिलनसँगै प्रचण्डले सरकारका काममा समेत असहयोग गरिरहेको प्रधानमन्त्रीको टीमले अनुभव गरिरहेको छ । इन्धनको मूल्यबृद्धिको बिषयमा पनि प्रचण्डले दोहोरो भूमिका खेलिरहेको उनीहरुको बुझाई छ । इन्धनको मूल्यबृद्धिका लागि सैद्धान्तिक सहमति जनाएका प्रचण्डले क्रान्तिकारी अध्यक्ष हिमाल शर्मालाई उक्साएर आन्दोलन चर्काएको सरकारको बुझाई छ ।
केही समयअघि वैद्यलाई साथमै लिएर झलनाथ निवासमा पुगेका प्रचण्डले यो सरकार ढालेर आफु प्रधानमन्त्री बन्ने प्रस्ताव गरेको उच्च स्रोतको दावी छ । वैद्य पक्ष भने जेठ १४ सम्म प्रचण्डलाई प्रधानमन्त्री बनाउने र उनलाई पनि नाङ्गेझार पार्ने योजनामा रहेको छ । सोहीअनुसार उनीहरुले प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा अघि सारेका छन् ।
शान्ति प्रकृयाका सवालमा पनि प्रचण्डले नयाँ नयाँ तुरुप फ्याँकेका छन् । आगामी साताभित्रै स्वेच्छिक अबकाशमा जाने लडाकूलाई बिदाई गर्न सरकार तयारी अबस्थामा रहेको भएपनि प्रचण्डले समायोजन र स्वेच्छिक अबकाशको काम एकैचोटी हुनुपर्ने सर्त राख्न कांग्रेस र एमालेको कान फुकेका छन् । त्यही अनुसार बिपक्षी दुई दलले सेना समायोजन बिशेष समितिमा अडान लिने बुझिएको छ ।
प्रचण्ड आफै प्रधानमन्त्री हुनेगरि सवैखाले गोटी चालेको भएपनि प्रचण्ड पक्षका युवा नेताहरुले भने तत्काल त्यस्तो योजना बनाउनु घातक हुने सुझाव दिएका छन् । आफ्नै सरकार ढाल्दा फेरि प्रचण्ड नै प्रधानमन्त्री हुने सम्भावना नरहेको, जनतामा गलत सन्देश जाने र शान्ति प्रकृया र संबिधान निर्माणसमेत धरापमा पर्ने भन्दै उनीहरुले अहिलेको अबस्थामा बाबुराम-प्रचण्ड मिलेर जानुपर्ने सुझाव दिएको स्रोतको दावी छ 
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page