१८ जेठ काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. महेश्वरमान श्रेष्ठसहित ७ जनापदाधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
उपकुलपति श्रेष्ठसँगै रजिष्ट्रार डा. निरोज पाण्डे, परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेत, कला, शिक्षा र कानून संकायका डिन शम्भु प्रसाद कोइराला, विज्ञान तथा प्रविधि संकायका डिन शुभनारायण पाठक, व्यवस्थापन संकायका डिन श्यामबहादुर कटुवाल र विज्ञान तथा प्रविधि संकायका सह-डिन राजेश कुमार झाविरुद्ध मुद्दा दायर गरेको हो ।
विश्वविद्यालयका पदाधिकारीहरुले शैक्षिक सत्र २०७०/०७१ मा आवेदन शुल्क, सम्बन्धन शुल्क तथा कार्यक्रम थप वापत लिनुपर्ने रकम नउठाई नलिई वदनियत पूर्वक हानि नोक्सानी पुर्याएको देखिएको अख्तियारले जनाएको छ । अख्तियारले अभियोग पत्रमा ४ करोड २८ लाख ७० हजार ७३९ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनको दफा १७, दफा ३(१) र दफा ३(१) को खण्ड (ङ), (छ), (ज) र (झ) बमोजिम हदै सम्मको सजाय माग गरेको छ । साथै को उपकुलपतिदेखि डिन सम्मका विशिष्ट श्रेणीका पदाधिकारीहरुको हकमा ऐनको दफा २४ अनुसार थप सजाय समत मागदावी गरिएको छ ।