चलचित्र ‘कहाँ भेटिएला’मा एक साथ देखिएपछि दर्शकले श्रीकृष्ण र स्वेताको जोडी वास्तविक जीवनमा पनि सुहाएको बताएका थिए । दर्शकले त्यतिबेला नै श्रीकृष्ण र स्वेतालाई बिहे गरेका थिए ।
नायक राजेश हमालले बिहे नगरी आफू पनि नगर्ने बन्दै बसेका श्रीकृष्णले हमालको विवाह भएको केही सातामा नै आफूले पनि बिहे गर्ने निर्णय लिएका छन् ।
अनलाइनखबरसँग कुरा गर्दै नायक श्रीकृष्ण श्रेष्ठले आफूले नायिका स्वेता खड्कासँग बिहे गर्न लागेको बताए । ‘हो हामी बिहे गर्ने निर्णयमा पुगेका छौं, यो निक्कै सोचेर गरिएको निर्णय हो’-श्रीकृष्णले भनेका छन् ।
लामो समयदेखि एकसाथ काम गरेको, व्यापार पनि साथमै गरेकाले बिहे गर्ने निर्णयमा पुगेको उनले जानकारी दिए । उनले आफूहरुले सामान्य बिहे गर्ने जनाएका छन् । बिहे यो बर्ष भित्र हुने श्रीकृष्णले बताए ।
श्रीकृष्ण र स्वेताको बिहे उनीहरुको नयाँ चलचित्र ‘कोहिनुर’ प्रदर्शनको आसपासमा हुने अनुमान गर्न सकिन्छ । सिनेमालाई पनि फाइदा पुग्ने र प्रचार पनि दरिलो हुने भएकाले पनि यो जोडी ‘कोहिनुर’ प्रर्दशन मिति साउन २३ को छेकोमा बिहे गर्न सक्छ ।
नेपालमा पाको उमेरमा बिहे गर्ने प्रचलन बढ्दै गएको छ । कलाकार मिथिला शर्माले ५० बर्षको उमेरमा बिहे गर्ने निर्णय गरिन् । नायक राजेश हमालले पनि ५० बर्ष कटेपछि नै बिहे गरे । यस्तै कलाकार तथा निर्देशक अनुप बराल र दिया मास्के पनि असार २३ गते बिहे गर्दैछन् । नायक आर्यन सिग्देलले पनि यसै बर्ष बिहे गरेका हुन् ।
