राजधानी बाहिर अब दिउँसै मापसे जाँच,लामो दूरीका सवारी चालक ट्राफिक प्रहरीको निशानामा

२८ जेठ, काठमाडौं । लामो दूरीको यात्रालाई सुरक्षित बनाउन ट्राफिक प्रहरीले काठमाडौं बाहिरका राजमार्गमा पनि दिउँसै मापसे जाँच गर्ने भएको छ ।
लामो दूरीका यात्रुबाहक सवारी चालकले मादक पदार्थ सेवन गरेर सवारी चलाएको गुनासो आएपछि ट्राफिक प्रहरी महासशाखाले काठमाडौंबाट बाहिरिने मुख्य नाकामा दिउँसै सवारी चालकको मापसे जाँच गर्ने भएको हो ।
‘छोटोमा भन्दा बढी सजगता लामो दूरीमा अपनाउनुपर्छ, मेचीदेखि महाकालीसम्म पुग्ने यात्रुलाई सुरक्षित घर पुर्‍याउनु हाम्रो उद्देश्य हो’, ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता बसन्तराज पन्तले भने,’राजमार्गका मुख्य नाकामा आकष्मिक तथा नियमित जाँच गर्नेछौं ।’
ठूला राजमार्गहरुबाट दैनिक हजारौंको संख्यामा यात्रु तथा मालबहाक सवारीसाधन उपत्यका भित्रने तथा बाहिरिने गर्छन् । ‘लामो दूरीका सवारीसाधनमा एउटा चालकको हातमा ५० बढी यात्रुको जीवन जोडिएको हुन्छ’, प्रवक्ता पन्तले भने, ‘मादक पदार्थ सेवन गरेर सवारी चलाएको भेटिए जरिवाना तथा केही सार्वजनिक अपराधमा मुद्दा पनि चलाउँछौ ।’
ट्राफिक प्रहरीले काठमाडौंबाट बाहिरिने नाकाहरु थानकोट र कोटेश्वरसहितका मूख्य नाकामा सवारी चालकको मापसे जाँचमा कडाई गर्ने भएको छ । लामो दूरीका चालकले थकाई मेट्ने बहानामा मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाएको गुनासो आएपछि ट्राफिकले नाकातर्फ मापसे जाँचलाई केन्दि्रत गर्ने भएको हो ।
‘उपत्यकाभित्रका सवारीसाधनका चालकलाई लक्षित गरेर धेरैमात्रमा रातको समयमा मापसे जाँच गर्दै आएका थियौं’, प्रवक्ता पन्तले भने, ‘अब भने मुख्य नाकामा रहेर उपत्यका भित्रने र बाहिरिने सवारी चालकको आवश्यकता अनुसार दिउँसै पनि मापसे जाँच गर्न लागेका हौं ।’
०६८ सालबाट उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरबाट शुरु भएको मापसे जाँच अभियान देशका अन्य ठूला सहरमा पनि पुगेको छ । मादक पदार्थ सेवन गरेर सवारी चलाउने प्रवत्तिलाई रोक्न थालिएको अभियानले सिंगो समाजमै सकारात्मक प्रभाव पारेको ट्राफिक प्रहरीको भनाइ छ ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page