हतियार र मृग सहित प्रक्राउ परेका नेविसंघका नेता शुभराम बस्नेत सहित अन्यलाई थप १० दिन हिरासतमा राख्न जिल्ला प्रहरी कार्यालय ल्याइँदै ।
धादिङ, जेष्ठ २७ - जिल्ला वन कार्यालयले मृत मृग र हतियार सहित प्रक्राउ परेका नेविसंघका नेता शुभराम बस्नेतलाई थप अनुसन्धान गर्नका लागि हिरासतमा राख्न मंगलबार १० दिनको म्याद थप गरेको छ ।
शंकरदेव क्याम्पस काठमाडौंका स्ववियु सभापति बस्नेतसहित ६ जनालाई धादिङ प्रहरीले सोमबार पृथ्वीराजमार्ग स्थित थाक्रे गाविसबाट प्रक्राउ गरेको थियो । उनीसँगै काठमाडौंका हरिशचन्द्र भण्डारी, रोशन खड्का, रमन राई, तनहुँका मदन थापा र धनुषाका चन्द्र गदाईली प्रक्राउ परेका थिए । सबैलाई थप अनुसन्धानका लागि भन्दै हिरासत राख्न सरकारी वकिलको कार्यालयबाट १० दिनको म्याद थपिएको हो । स्थानीय ठूलो सामुदायिक वनमा मृग शिकार गरी काठमाडौं जाने क्रममा ना२च ४०५७ नम्बरको गाडीमा मृगसहित उनीहरु भेटिएका हुन् । उनीहरुको साथमा टुटु म्याग्नम राईफल र १९ थान गोली बरामद गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले जानकारी दिए । प्रहरीले गरेको सोधपुछमा बस्नेतले आफुले मृग मार्न गोली हानेको स्वीकार गरेको मल्लले बताए ।
प्रहरीले वन कार्यालयको जिम्मा लगाएपछि अनुसन्धान अधिकृत तोकेर उनीहरुको बयान लिइएको निमित्त जिल्ला वन अधिकृत कृष्णप्रसाद अधिकारीले जानकारी दिए । सहायक वन अधिकृत तथा अनुसन्धान अधिकृत विनोदकुमार रेग्मीले ६ जनासँग मंगलबार बयान लिएका थिए । प्रारम्भिक अनुसन्धानमा उनीहरु दोषी देखिएकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाउने तयारी भएको वन कार्यालयले जनाएको छ । यसअघि पनि बस्नेत काठमाडौंमा हतियार सहित प्रक्राउ परेका थिए ।
