पूर्वराजाको जन्मोत्सवमा शक्ति प्रदर्शनको तयारी
१५ असार, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रले बुहारी हिमानीको खुसीका लागि छोरा पारसलाई नेपाल नबोलाएको खुलासा भएको छ । पारसको बुहार्तन सहन नसकेर हिमानी आजित भएकाले ज्ञानेन्द्र आफ्नो जन्मदिनमा आउन चाहेका छोरालाई पनि रोक्न चाहान्छन् । तीन नाति नातिना र बुहारीसँग खुसी रहेका उनी छोराको उद्दण्डता व्यहोर्न चाहँदैनन् ।
स्रोतका अनुसार पारस बुबाको जन्मोत्सव पारेर नेपालमै आउन चाहान्छन् । तर, ज्ञानेन्द्रले उनलाई बोलाएका छैनन् । बुबाले नबोलाई आफै नआउने पारसले घोषणा गरेको निर्मल निवास निकट स्रोतले जनाएको छ । ज्ञानेन्द्रले भने बुहारी हिमानीको दुर्दशा सहन सक्दिँन भन्दै पारसलाई नबोलाएको स्रोतले जनाएको छ । ‘पारस यता आएपछि हिमानीको दुर्दशा शुरु हुन्छ, कम्तिमा अहिले उनी खुसी छिन्’ एक दरवारियाले भने ।
पारस अहिले प्रेमिकाका साथ बैंककमा बस्दै आएका छन् । गत वर्ष हृदयघात भएर गम्भिर विरामी भई अस्पताल भर्ना भएका बेला बाहेक उनको परिवारले उनीसँग भेटघाट गरेको छैन । ज्ञानेन्द्रको जन्मदिनमा पारस बाहेक परिवारका सबै सदस्य सहभागी हुने छन् ।
ज्ञानेन्द्रको जन्मोत्सवको तयारी
तर, ज्ञानेन्द्रको जन्मोत्सव मनाउने तयारी गरिरहेका राजावादीहरुले भने पारसलाई पनि बोलाउन खोजेका छन् । ज्ञानेन्द्रको जन्मोत्सवमा उनका एकमात्र छोरा पारसलाई सहभागी गराउन ‘शु जन्मोत्सव नागरिक मूल समारोह समिति’ले प्रयास गरिरहेको त्यसका सदस्य किशोरी महतोले बताए ।
पारशलाई यसपालीको विशेष समारोह हुने भएकाले सहभागी भइदिन आफूहरुले आग्रह गरे पनि आउने निश्चित नभएको महतोले जानकारी दिए । ‘हामीले पारस सरकारलाई पनि बोलाएका छौं तर उहाँ आउने निश्चित छैन’ उनले भने’जनताले अब पारस सरकार पनि आउनुपर्छ भनेर जनताले आवाज उठाउन थालेका छन्, जनताको आवाज सुनेर उहाँ बैंककबाट आउनुपर्छ’ ।
पारशलाई यसपालीको विशेष समारोह हुने भएकाले सहभागी भइदिन आफूहरुले आग्रह गरे पनि आउने निश्चित नभएको महतोले जानकारी दिए । ‘हामीले पारस सरकारलाई पनि बोलाएका छौं तर उहाँ आउने निश्चित छैन’ उनले भने’जनताले अब पारस सरकार पनि आउनुपर्छ भनेर जनताले आवाज उठाउन थालेका छन्, जनताको आवाज सुनेर उहाँ बैंककबाट आउनुपर्छ’ ।
शक्ति प्रदर्शन गर्ने
पूर्व राजा ज्ञानेन्द्र शाहको ६८ औं जन्मदिनलाई राजावादीहरुले यसपटक शक्ति प्रदर्शन सहित मनाउने भएका छन् । पूर्व राजाको जन्मदिनका अवसरमा तराई मधेशबाट मात्रै १० हजार मान्छे काठमाडौं ल्याउने तयारी भइरहेको छ । हिन्दू अधिराज्यको पुनर्वहाली माग गर्दै जन्मोत्सवका अवसरमा शक्ति प्रदर्शन गर्ने तयारी भइरहेको आयोजकले स्वीकारेका छन् ।
पूर्व राजाको जन्मोत्सव मनाउन पूर्व अन्चलाधीस नवराज गुरुङको अध्यक्षतामा ‘शुभ जन्मोत्सव नागरिक मूल समारोह समिति’ गठन गरिएको र त्यसमा जनताको व्यापक सहभागिता गराउने तयारी भइरहेको समितिका सहसंयोजक तथा मधेश समिति प्रमुख किशोरी महतोले बताए । ‘हामीले उहाँलाई पूर्व राजा होइन, राजाकै हैसियतमा मान्दै आएका छौं र यो जन्मोत्सव गणतन्त्रपछिको फरक र विशेष प्रकारको हुनेछ’ महतोले भने ‘मधेशबाट मात्रै ६८ ओटा भार सहित १० हजार जनता सहभागी हुनेछन्’ ।
तराईका शक्तिपीठमा विशेष पूजा
तराईका बिराटनगर, जनकपुर, सप्तरी र वीरगन्जका प्रमुख शक्ति पीठमा २० गतेदेखि नै राजतन्त्र र हिन्दू राज्य बहालीको माग गर्दै पूजाआजा गरिने र ६८ औं जन्म जयन्तीका अवसरमा ती मन्दिरको प्रसाद ६८ ओटा भार सहित निर्मल निवास भित्र्याउने तयारी भइरहेको छ । लोककल्याणकारी जनता पार्टी, श्रीराम हनुरमान आरधना मण्डल नेपाल, २०४७ साकलो संविधान पुनस्र्थापना हाम्रो अभियान, गौ संरक्षण मन्च लगायत मिलेर मधेशका जनतालाई हिन्दू राज्य माग्दै काठमाडौं ल्याइने उनले बताए ।
ज्ञानेन्द्र बोल्ने ?
आफ्नो जन्मदिनका अवसरमा पूर्व राजा ज्ञानेन्द्रले पछिल्लो राजनीतिक अवस्थाका बारेमा आफ्नो धारणा जनता समक्ष राख्ने तयारी भइरहेको पनि समितिले जनाएको छ । ‘जनताले अहिलेको विकृति विसंगति र मुलुक बिखण्डको खतराका बारेमा राजाको भनाइ के हो बुझ्न चाहेका छन्’ समितिका महासचिव राधेश्याम थापाले भने ‘मौसूफबाट केही न केही सम्बोधन आउने सम्भावना छ, अब उहाँ चुप लाग्ने अवस्था छैन’ ।
पूर्वराजाले आफ्नो जन्मदिनका अवसरमा जम्मा हुने भिडप्रति चासो दिएकाले मान्छे बटुल्न किशोरी महतो, जगत गौचन लगायतलाई खटाइएको छ । प्रचार प्रसारको जिम्मा पत्रकार अस्मिता भण्डारीलाई दिइएको र उनकै सम्पादनमा राजतन्त्रको अपरिहार्यताको मानचित्रसहित विशेषांक प्रकाशित भएको महतोले बताए । पूर्व राजाले त्यसको बिमोचन गर्नेछन् ।