उपनिर्वाचनमा सुरक्षा अत्यन्त कडा

चितवन, असार ४
जिल्ला प्रशासन कार्यालय चितवनले क्षेत्र नम्बर ४ मा असार ८ गते हुने संबिधानसभाको उपनिर्वाचनका लागि जिल्लाको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको जनाएको छ ।
आज कार्यालयमा पत्रकार सम्मेलनगरी प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले अपराधिक गतिविधि हुन नदिन निर्वाचनको दिन सुरक्षाकर्मी पर्याप्त संख्यामा परिचालन गरिने जानकारी दिनुभयो । मंसिर ४ गते भएको निर्वाचनमा नेपाली सेना र म्यादी प्रहरी पनि परिचालन गरिएकोमा उपनिर्वाचनमा भने नेपाल प्रहरी र सशस्त्र प्रहरी मात्र परिचालन गरिने जानकारी शर्माले दिनुभयो । जिल्ला स्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुशन्धानका प्रमुखहरुको उपस्थितिमा गरिएको पत्रकार भेटघाटमा प्रमुख जिल्ला अधिकारी शर्माले सुरक्षा व्यवस्थापनमा कुनै कन्जुस्याँई नगरिएको बताउनुभयो । 
कार्यक्रममा चितवनका प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले निर्वाचनका दिन जुनसुकै मतदान केन्द्रमा ५ देखि १० मिनेट सम्म पुग्न सक्नेगरी मोवाईल टोलि परिचालन गरिने बताउनुभयो । क्षेत्र नम्बर ४ को १४ स्थानमा नाकाबन्दी गरिने जानकारी दिंदै कार्कीले प्रशासनबाट अनुमतिपत्र नलिएकालाई सवारी साधन सञ्चालनमा रोक लगाइने बताउनुभयो । उहा“ले क्षेत्र नम्बर ४ का सबै ठाउ“ र सो क्षेत्रको सीमामा मधिराको बिक्रि बितरणमा रोक लगाइएको जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी शर्माले साँझ ५ बजे सम्ममा मतदान सकिएपछि सबै मतदान केन्द्रका विद्युतीय मतदान सामग्रीहरु एकै चोेटी सदरमुकाम ल्याउने तयारी भएको जानकारी दिनुभयो । यसका लागि सबै केन्द्रमा एक एक वटा गाडी उपलब्ध गराइनेछ । सोहि दिन निर्वाचन अधिकृतको कार्यालयमा मतगणना गरिनेछ ।
जिल्ला प्रशासन कार्यालयले निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै ईजाजत लिइएका हतियारहरु बुझाउन आग्रह गरेअनुरुप हतियारहरु बुझाउने क्रम चलिरहेको जनाएको छ । ६५ हजार २ सय ९९ जना मतदाता रहेको सो क्षेत्रमा निर्वाचनका लागि करिब ४ सय जना कर्मचारीहरु परिचालन गरिंदैछ ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page