बेगवानी दम्पती हत्या अनुसन्धानकर्ता 'पुलिस अफ द मन्थ'

सप्तरीको बेगवानी दम्पती हत्याका मुख्य अनुसन्धानकर्ता तीन जना प्रहरी 'पुलिस अफ द मन्थ' छनोट भएका छन्। पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले उक्त अनुसन्धानमा हासिल गरेको सफलताको कदर गर्दै एक प्रहरी निरीक्षक र दुई प्रहरी नायव निरीक्षकलाई उत्कृष्ट प्रहरी छनोट गरेको हो।
 
जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी निरीक्षक किरण गुरूङ तथा केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत रही तत्काल जिल्ला प्रहरी कार्यालय सप्तरीमा काजमा खटिएका प्रहरी नायब निरीक्षकद्वय श्यामसुन्दर घिमिरे र दुर्गाकुमार योञ्जनलाई जेठ महिनाको उत्कृष्ट प्रहरी छनोट गरिएको पूर्वक्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ। 
 
घिमिरे र योञ्जन सोही घटनाको अनुसन्धानमा सघाउन काठमाडौंबाट जिल्ला प्रहरी कार्यालय सप्तरी खटिएका थिए। गत जेठ २२ गते सप्तरीको हनुमाननगर–५ बस्ने ५२ वर्षीय प्रेमसुख देगवानी र उनकी श्रीमती ५० वर्षीया सरो देगवानीको आफ्नै घरमा सुतिरहेको अवस्थामा हत्या भएको थियो। 
 
सोही घटनाको सुक्ष्म अनुसन्धानपश्चात् लुटपाटको उदेश्यले घटना भएको पत्ता लगाई संलग्न दुई जना अभियुक्तहरूलाई घटनामा प्रयोग गरिएका पिलास, रड, बन्चरो, पेचकस, रेन्च, एनेस्थेटिक ईथर लगायत सामानको साथमा कटुवा पेस्तोल १ थान र गोली २ राउण्डसहित पक्राउ गर्न उक्त टोली सफल भएको थियो।  पीडितहरूबाट लुटिएको १३९.४३ ग्राम सुन र १०.१ किलो चा“दी लगायतका धनमालसमेत बरामद गरिएको थियो।
 
घटनापश्चात पीडितका आफन्तले प्रहरीले अभियुक्त पक्राउ गर्न नसकेको भन्दै हनुमाननगर बजारमा दिनहुँ चक्काजाम र बन्द गर्दैआएका थिए। पूर्वक्षेत्रीय प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक नवराज सिलवालले गलत कामकारबाही र आचरण भएका कर्मचारीलाई कारबाही मात्र नभइ उत्कृष्ट कार्यसम्पादन गर्नेको मनोवल बृद्धि गर्न पुरस्कृत गर्ने नवीन परम्पराको आफूले थालनी गरेको बताए। 
 
पुरस्कृत प्रहरीले नागरिकको सेवामा खटिने आफ्नो नियमित जिम्मेवारी हुँदाहुँदै पनि यस्तो सम्मान पाउ“दा गौरव र हौसला मिलेको बताए। २०७० साल फागुन महिनाबाट उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई 'पुलिस अफ द मन्थ' छनोट गरी उनीहरुको फोटो र उत्कृष्ट कार्यको विवरण पूर्व क्षेत्रीय प्रहरी कार्यालयको आवरण स्तम्भमा राख्न थालिएको हो। 
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page