बग्दाद , असार १५ - उत्तरी इराकको सहर तिक्रिटमा हेलिकप्टर आक्रमण गरिएको सेनाले जनाएको छ । सुन्नी लडाकुलाई नेतृत्व गरिरहेको विद्रोही समूह आईएसआईएसको नियन्त्रणबाट उक्त सहरलाई मुक्त गराउन ठूलो कारबाहीसँगै उक्त आक्रमण गरिएको हो ।
सेनामाथि जाइलाग्ने सुन्नी कट्टरपन्थीलाई निसाना बनाइएको एपीले जनाएको छ । विद्रोहीहरू एक युनिभर्सिटी क्याम्पसमा मोर्चाबन्दी गरेर बसेका छन् ।
मुख्य रूपले सुन्नी बसोबास गर्ने यो सहर इराकका पूर्वशासक सद्दाम हुसेनको जन्मथलो पनि हो । गत साता यसमाथि इस्लामिक स्टेट इन इराक एन्ड द लेभन्ट (आईएसआईएस) ले आधिपत्य कायम गरेको थियो ।
सम्पूर्ण शस्त्रले सुसज्जित हजारौं सैनिक नजिकैको समारा सहरबाट अघि बढिरहेको भनिएको छ । जमिनमा रहेका आफ्नो जवानको रक्षाका लागि आफ्नो चालकरहित विमानले सुरक्षा दिइरहेको भन्दै अमेरिकाले पनि यो खबरको पुष्टि गरेको छ ।
आईएसआईएसका लडाकुसँग भाग्नु वा मर्नुबाहेक विकल्प नरहेको एएफपीले जनाएको छ । उत्तरी र पश्चिमी इराकको एक ठूलो भागमा भने लडाकुकै नियन्त्रण छ । यो सब उचार-चढावबीच त्यहाँका प्रभावशाली सिया धर्मगुरु आयातुल्लाह सिस्तानीले मंगलबारसम्म प्रधानमन्त्री नियुक्त हुनुपर्ने अडान राखेका छन् ।
मुलुकमा राजनीतिक संकट हटाउन नयाँ संसदको बैठक अगावै मुख्य पदहरुमा सहमति बनिसक्नुपर्ने उनले सुझाव दिएका छन् । राष्ट्रिय एकता सरकार गठनका लागि इराकमाथि चौतर्फी दबाब छ । वर्तमान प्रधानमन्त्री नुरी अल मलिकी तेस्रोपटक पनि सत्तामा कायम रहने चाहना राख्छन् । केहीले उनीमाथि वर्तमान संकटबाट बेखबर रहेको र उनकै पृथकतावादी सिद्धान्तले सुन्नी अल्पसंख्यक समुदाय आईएसआईएसको अधीनमा पुगेको आरोप लगाएका छन् ।
आईएसआईएस कि आईएसआईएल ?
अरबिक भाषामा यो समूहलाई अल दावला अल इस्लामिया फी अल इराक वा अल साम वा द इस्लामिक स्टेट अफ इराक एन्ड अल साम भनिन्छ । 'अल-साम' शब्दले दक्षिणी टर्की भएर सिरियादेखि इजिप्टसम्मको क्षेत्रलाई जनाउँछ । यसमा लेबनान, इजरायल, प्यालेस्टाइनी क्षेत्रहरू र जोर्डन पनि समावेश छ । उक्त पूरा क्षेत्रमा इस्लामिक राज्य वा धार्मिक गुरुको नेतृत्वमा शासन गर्नु समूहको लक्ष्य हो । यो विशाल क्षेत्रलाई अंग्रेजी भाषाको शब्द 'द लेभन्ट' ले समेट्छ । त्यही भएर अमेरिकी समाचार संस्था एपीले उक्त समूहलाई द इस्लामिक स्टेट अफ इराक एन्ड द लेभन्ट वा 'आईएसआईएल' अनुवाद गरेको
छ । 'उक्त समूहको नामको यो नै सबभन्दा ठीक अनुवाद भएको हाम्रो ठम्याइ छ, यसले मध्यपूर्वको विशाल भूमिका शासनको चाहनालाई झल्काउँछ,' एपीका उपप्रमुख जोन डानिसजुवस्कीले भने ।
उनी एपी अन्तर्राष्ट्रिय समाचारका वरिष्ठ प्रबन्धनिर्देशक पनि हुन् । यसले संक्षिप्त रूप आईएसआइएसबाट उत्पन्न हुने भ्रमलाई पनि हटाउँछ ।
राष्ट्रसंघले पनि उक्त संगठनको संक्षिप्त रूप 'आईएसआईएल' प्रयोग गरेको छ ।