न्युयोर्क, असार १२ - नेपाली महिला पर्वतारोहीहरुको समूह 'सेभेन समिट्स विमेन टिम' ले उत्तरी अमेरिकाको सर्वोच्च शिखर माउन्ट डेनालीको बुधबारको सफल आरोहण गरेको छ । स्थानीय समय अनुसार मध्यान्ह एक बजेर ४५ मिनेटमा टिमले सफल आरोहण सहित नेपाली झण्डा फहराएका थिए ।
मिडिया संयोजक प्रेरणा मरासनीले दिएको जानकारी अनुसार आरोहण दलका चुनु श्रेष्ठ, आशाकुमारी सिंह, निम डोमा शेर्पा र पेमा डिकी शेर्पासहित क्यामराम्यान आङ छिरिङ लामाले हजार एक सय ९४ मिटर अग्लो हिमालको सफल आरोहण गरेका हुन् ।
अमेरिकी राज्य अलास्कामा अवस्थित यो हिमाल 'माउन्ट म्याकिन्ले' नामले पनि परिचित छ । समूहका सदस्यहरु पुजन आचार्य, माया गुरुङ, र शैली बस्नेतले भने स्वास्थ्य तथा अन्य व्यवस्थापनका कारण आरोहणबाट बन्चित रहे ।
चुचुरोमा पुगेपछि आशाले शैलीलाई स्याटेलाइट फोन मार्फत जानकारी दिदैं अत्यधिक खुशी व्यक्त गरेकी थिइन् । उनी लगायत अन्य सदस्यहरु खुशीका आंसुका कारण केहि बोल्न सकेनन् ।
समूहकी संयोजक शैलीले भनिन् "यो हामिलाई निकै गौरवको घडी हो ।
मौसम निकै प्रतिकुल थियो, समूहले ५ दिन चौध हजार फिट मा अवस्थित क्याम्प १४ मा बस्नु परेको थियो ।' उनका अनुसार शिखर आरोहणको दिन पनि आरोहीहरुले हावा र हिउँका कारण धेरै कठिनाई भोग्नु परेको थियो ।
आरोहण पश्चात समूह विभिन्न महत्वपूर्ण अन्तराष्ट्रिय कार्यक्रममा सहभागि हुँदैछन् । क्यानडाको टोरोन्टोमा हुन गइरहेको लायन्स क्लबको अन्तराष्ट्रिय सम्मेलनमा यि महिलाहरुलाई वत्ताको रुपमा आमन्त्रण गरिएको छ । त्यसपछि अमेरिकाको 'स्टेट डिर्पाटमेन्ट' ले आयोजना गरेको एक हप्ते भ्रमणमा पनि सामेल हुनेछन् भने वासिंगटन डिसी र लस एन्जलसमा सरकारी उच्च तहका भेटघाट र मिडियासंग अन्तरकि्रयामा पनि भाग लिनेछन् ।
सात महादेशका सात अग्ला हिमाल चढ्ने अभियानमा लागेका यो महिला समुहको यो छैठौं हिमाल थियो । आगामि पुस महिनामा यिनले आफ्नो अभियानको अन्तिम हिमाल, अन्टारटिकाको माउन्ट भिन्सन म्यासिफ चढ्नेछन् जसले यि महिलालाई सात शिखर चढ्ने विश्वकै पहिलो महिला समूह बनाउनेछ ।