विश्वमा कुन देशका मानिसले सबैभन्दा धेरै समय टेलिभिजन, कम्प्युटर जस्ता विद्युतीय उपकरण हेर्छन् होला ? काँचका पर्दा अगाडि आफ्नो महत्वपूर्ण समय कटाउनेमा सबैभन्दा अगाडि कुन देशका मानिस छन् होला ? धेरैको अनुमानमा अमेरिकी तथा युरोपेली मानिसहरु पर्छन् तर काँचका पर्दामा दिन कटाउनेहरुमा विकसित देशका जनतालाई पछि पार्दै इण्डोनेसियालीहरु सबैभन्दा अगाडि देखिएका छन् । हालै भएका एक अध्ययनले टेलिभिजन, कम्प्युटर, ल्यापटप, स्मार्टफोन तथा ट्याबलेट जस्ता सूचना प्रविधिका उपकरणका स्क्रिनमा हेरेर सबैभन्दा धेरै समय बिताउनेहरुमा इण्डोनेसियालीहरु एक नम्बरमा रहेको देखाएको छ । हालै अमेरिकाको क्यालिफोर्नियामा भएको एक सम्मेलनमा प्रस्तुत गरिएको उक्त अनुसन्धान प्रतिवेदनका अनुसार इण्डोनेसियालीहरुले दिनमा ९ घण्टा काँचको पर्दामा बिताउँछन् । विश्वका ३० देशमा गरिएको अध्ययन अनुसार सबैभन्दा कम समय स्क्रिनमा बिताउनेमा इटालियनहरु छन् । इटालियनहरुले दिनको ५ घण्टा १७ मिनेट काँचको पर्दामा खर्च गर्छन् । ३० वटै देशका मानिसहरुको औषत समय गणना गर्दा मानिसहरुले दिनको ६ घण्टा ६० मिनेट टेलिभिजन, कम्प्युटर जस्ता उपकरण हेरेर बिताउने गरेको पाइएको छ । अनुसन्धानकर्ता मिलवार्ड ब्राउनका अनुसार १६ देखि ४४ वर्ष उमेर समूहका मानिसमा यस्तो अध्ययन गरिएको हो । अध्ययन अनुसार टेलिभिजन हेर्नेमा बेलायतीहरु सबैभन्दा अगाडि छन् । बेलायतीहरुले औषतमा दिनमा २ घण्टा २८ मिनेट टेलिभिजन हेर्ने गर्छन् । सबैभन्दा कम समय टेलिभिजन हेर्नेमा भियतनामी छन्, जसले दिनको केबल १ घण्टा ९ मिनेटसम्म मात्र टेलिभिजन हेर्छन् । सबैभन्दा धेरै समय टेलिभिजन हेर्नेमा अमेरिकीहरु दोश्रो स्थानमा छन् । अमेरिकीहरुले औषतमा दिनमा १४७ मिनेट टेलिभिजन हेर्छन् । यस्तै ल्यापटप तथा अन्य कम्प्युटर चलाएर समय कटाउनेमा चिनियाहरु अगाडि देखिएका छन् । चिनियाहरुले दिनमा औषतमा २ घण्टा ४१ मिनेट कम्प्युटर चलाउँछन् । सबैभन्दा कम समय कम्प्युटर चलाउनेमा भने १ घण्टा ५ मिनेटका साथ केन्याका नागरिक पुछारमा छन् । अर्काे रोचक कुरा त के छ भने सबैभन्दा लामो समयसम्म स्मार्टफोन चलाउनेमा अफ्रिकी मुलुक नाइजेरियाका मानिसहरु पर्छन् । नाइजेरियालीहरुले एक दिनमा ३ घण्टा १३ मिनेट स्मार्टफोन चलाएर बिताउँछन् । फ्रान्सेलीहरु सबैभन्दा कम समय स्मार्टफोन चलाउनेमा पर्छन् । फ्रान्सेलीहरुले एक दिनमा १ घण्टा १९ मिनेट स्मार्टफोनका लागि खर्चिन्छन् । यस्तै ट्याब्लेट चलाएर समय खर्चिनेमा फिलिपिनोहरु अघि छन् । फिलिपिनोहरुले दिनमा १ घण्टा ५५ मिनेट ट्याबलेट चलाउँछन् । अनौठो त के भने जापानीहरुले दिनमा जम्मा १५ मिनेट मात्रै ट्याबलेट चलाउने गर्छन् । अध्ययन अनुसार पछिल्लो समयमा विश्वमा इण्टरनेट प्रयोगकर्ताको संख्यामा हुने वृद्धिदर नकारात्मक छ । गएको वर्ष विश्वमा इण्टरनेट प्रसारको वृद्धिदर १० प्रतिशतले घटेको छ तर मोबाइल डाटा ट्राफिकमा भने ८१ प्रतिशतले वृद्धि भएको अध्ययनको निष्कर्ष छ । विश्वमा टेलिफोन सेट भएका मानिसको संख्याभन्दा टेलिभिजन भएका मानिसको संख्या बढि छ । विश्वका ५ अर्ब ५० करोड टेलिभिजन सेट प्रयोगमा रहेका र फोनको संख्या केबल ५ अर्ब २० करोड मात्र रहेको शोधकर्ताको दाबी छ । साथै टेलिफोन सेट भएकामध्ये जम्मा ३० प्रतिशतसँग मात्र स्मार्टफोन रहेको अध्ययनका बताउँछन् ।
विज्ञहरुका अनुसार टेलिभिजन, कम्प्युटर तथा मोबाइल फोनको प्रयोगले मानिसमा विभिन्न खाले स्वास्थ्य समस्याको जोखिम बढ्दै गएको छ । बेलायतमा गरिएको अध्ययन अनुसार ६० प्रतिशत मानिसमा पर्याप्त निद्रा नपर्ने समस्या देखिएको छ । ग्याजेटहरुको अत्याधिक प्रयोग अनिद्राको मुख्य कारक तत्व रहेको विज्ञहरु बताउँछन् । शयन कक्षमा यस्ता विद्युतिय उपकरणको उपस्थितिले मानिसको स्वास्थ्यमा नकारात्मक असर पु¥याउँछ । यस्ता श्रव्य दृश्य विद्युतीय उपकरणको पर्दाबाट निस्कने निलो प्रकाशले निद्रा उत्पन्न गराउने मेलाटोनिन हर्माेनको उत्सर्जनमा बाधा उत्पन्न गराउँछन् । त्यसकारण मानिसमा अनिद्राको समस्या बढ्छ । त्यसैले सुत्नु अगाडि लामो समयसम्म टेलिभिजन वा ग्याजेट बढि नचलाउन विज्ञहरुले सुझाव दिएका छन् ।