'बदनाम' इटहरीमा असारभित्रै वेश्यावृत्ति हटाउने डिएसपी शर्माको प्रतिबद्धता

पत्रकार डेकेन्द्र थापाको हत्याका अभियुक्तलाई मुद्दा चलाएर चर्चामा आएका डिएसपी विनोद शर्मा इटहरी आएको दुई साता नबित्दै उनले गरेको कामको चर्चा नगरभरि छ। गुण्डा, लागूपदार्थ तथा वेश्यावृत्ति निर्मूल पार्ने अभियानसहित उनले आउने बित्तिकै इलाका प्रहरी कार्यालय इटहरीको गेटमा निलो अक्षरले सातबुँदे लक्ष्य लेखिएको बोर्ड राख्न लगाए। शर्माका सातवटा लक्ष्यको पहिलो नम्बरमा छ, भ्रष्टाचाररहित प्रहरी कार्यालय।
 
कार्यालयमा हाजिर हुनेबित्तिकै उनले आफू मातहतका प्रहरीहरुलाई भ्रष्टाचार नगर्ने कसम खुवाएका थिए। कसम खाएको १० दिन नबित्दै ‘कसम तोड्ने’ दुई जना प्रहरीलाई उनले कारबाही गरिसकेका छन्। इटहरीमा वेश्यावृत्ति गराउने होटल सञ्चालकसँग १० हजार रुपैयाँ घुस खाएको आरोपमा प्रहरी जवान पदम विकलाई उनले निलम्बन गरे भने त्यसको केही दिनपछि नै साइकल चोरलाई छुटाउन २ हजार रुपैया घुस खाएको आरोपमा सइ लव केसीको जागिरै खाइदिए। घुस लिने प्रहरीहरुलाई बिना कुनै माफी निलम्बन गर्ने अडान लिएका छन् उनले। ‘प्रहरीले अरु गल्ती गरे भने अरु कारवाही हुन्छ,’ उनी भन्छन्, ‘तर घुस खाए भने सिधै निलम्बित हुन्छन्।’ त्यसको लागि उनी आफ्नै मातहतका प्रहरीविरुद्ध पनि निगरानी गरिरहेका हुन्छन्। यस्तो निगरानीलाई ‘काउण्टर सर्भिलेन्स’ भनिन्छ। त्यसको लागि उनले कार्यालयका प्रत्येक कोठामा सीसी क्यामेरा जडान गर्ने तयारी समेत थालेका छन्। 
 
आफूअघिका प्रहरीहरुले घुस खाएर गलत प्रवृत्ति बसालिदिएको उनको आरोप छ। प्रहरीभित्रकै भ्रष्टाचार र लापरवाहीले अपराधीहरु राजनीतिक दबाब तथा आर्थिक प्रलोभनमा छुट्ने गरेको, इटहरीमा वेश्यावृत्ती मौलाएको तथा व्यापारीहरुसँग पैसा उठाउने डनहरुको जगजगी बढेको उनको ठम्याइ छ। उनी भन्छन्, ‘अपराध रोक्ने र विकृति हटाउने काम सशस्त्रको पनि होइन, सेनाको पनि होइन, प्रहरीकै हो। त्यसैले कमजोरी प्रहरीमा नै छ।’ 
 
प्रहरी शुद्धिकरणको लागि यसअघि २८ जनालाई निलम्बन र ८७ जनालाई सुधारात्मक तालिमको सिफारिस गरेका उनी गत वैशाखमा नेपाल प्रहरीको ‘पुलिस अफ द मन्थ’बाट पुरस्कृत भएका थिए।
...
उनले लेखेको अर्को लक्ष्य छ, वेश्यावृत्तिरहित नगर। वेश्यावृत्तिको लागि इटहरी पूर्वमै बद्नाम छ। इटहरीको बसपार्क क्षेत्र तथा राजमार्ग नजिकका होटलहरुमा वेश्यावृत्ति विकराल रुपमा बढ्दो छ। नागरिक समाजले विरोध गर्ने गरेपनि प्रहरीले खासै सक्रियता नदेखाउँदा वेश्यावृत्ति नियन्त्रणमा आउन सकेको थिएन। 
 
इटहरीमा नयाँ आउने प्रहरी अधिकृतले सुरु सुरुमा के के न गरौँला झैँ गरेर छापा मार्थे र होटलबाट जोडीहरु समातेर ल्याउँथे। त्यसमा कतिपय अवस्थामा पति पत्नी तथा प्रेमी प्रेमिका पनि पर्थे। पक्राउ परेका यौन व्यवसायीहरुलाई सार्वजनिक ऐन अन्तर्गत मुद्दामा सामान्य कारबाही गरेर छाडिदिन्थे। वेश्यावृत्ति गर्नेहरुले एक दुई दिन जेलको हावा खाए पनि वेश्यावृित्त गराउनेहरुले भने सहजै उन्मुक्ती पाउँथे। 
 
अधिकृत पुरानो हुँदै गएपछि छापा मार्ने क्रम घटेर शून्यमा पुग्थ्यो। गाईँगुईँ सुनिन्थ्यो, प्रहरीले होटल सञ्चालकबाट हप्तावारी उठाउँछन्, अनि नदिने होटलमा छापा मार्छन्। तर मुख खोल्ने कसले?
 
यता शर्माले भने जोडीहरुलाई पक्रने आवश्यकता देखेनन्। बरु मोबाइलमा अश्लील भिडियो हाल्ने व्यवसायीहरुलाई पक्रेर थुने। उनले वेश्यावृत्तिमा संलग्न हुनेलाई भन्दा गराएर पैसा कमाउने होटल सञ्चालकहरुलाई पक्राउ गरेर ल्याए अनि जिउ मास्ने बेच्ने अभियोगमा मुद्दा दर्ता गरे। यौनकर्मी युवतीहरुकै आरोपमा भएर उनले दुई जना होटल सञ्चालकलाई जिउ मास्ने बेच्नेमा मुद्धा चलाए। इटहरीमा भइरहेको वेश्यावृत्तिलाई असारभित्र निमिट्यान्न पार्ने लक्ष्यका साथ कारवाही अघि बढाइएपछि इटहरीमा वेश्यावृत्ती गर्ने र गराउनेहरुबिच हल्लीखल्ली मच्चिएको छ। 
 
कारवाहीसँगै उनी वेश्यावृत्तिमा संलग्न युवतीहरुलाई वैकल्पिक रोजगारमा संलग्न गराउने पहल गर्दैछन्। ‘तालिम दिने, सिलाइ मेसिन दिने अनि परिवारको जिम्मा लगाइदिने,’ शर्मा भन्छन्, ‘उनीहरुलाई वैकल्पिक पेशाको अवसर दिनुपर्छ।’                  
...
 
गुण्डागर्दीलाई निर्मुल पार्ने भन्दै उनी खरो उत्रिएका छन्। 
 
एक दिन नेविसंघ सुनसरीका पूर्व जिल्ला अध्यक्ष विकास केसी इलाका प्रहरी कार्यालय पुगेको बेलामा डिएसपी शर्माले हपारे, ‘इटहरीको गुण्डा विकास तिमी नै होइनौ?’
 
केसीले प्रतिवाद गरे, ‘सरले नेविसंघको जिल्ला अध्यक्ष भइसकेको मानिसलाई गुण्डा भन्न मिल्छ?’
‘ए तिमी पार्टीमा पनि छौ ?’ उनले भने, ‘तिमी मेरो टार्गेटमा छौ ।’ केसीसमेत प्रमाण पुगे कारवाही गर्न चुनौती दिँदै निस्किए ।
 
इटहरीमा बाहिरी नभएपनि भित्रि गुण्डागर्दी रहेको उनी बताउँछन् । गुण्डागर्दीले व्यवशायीहरु आतंकित भएको बताउँदै राजनीतिक संरक्षणमा रहेका अनि टोले दादाहरुलाई कारवाही थालेको उनी बताउँछन् ।
 
सो क्रममा पुराना रेकर्ड फाइल पल्टाउँदै प्रहरी चौकीमा ‘प्रहरीसँग एक रात’ नाम दिएर अभियान नै सुरु गरेका छन् । गुण्डागर्दी गर्ने, जाँड रक्सी खाएर हिड्नेदेखि, ठगी गर्ने, चोर, फटाहाहरुलाई उनी पक्राउ गर्छन् र त्यो रात थुनुवा कक्षमा थुनेर राख्छन् । ‘राती उनीहरुसँग सल्लाह र सहमती गर्छु,’ उनी भन्छन्, ‘छोड्नको लागि पुजारीदेखि नेताहरुकोसमेत फोन आउँछ, तर एक रात नथुनी छाड्दिँन ।’
...
कार्यालयको कामकारवाहीलाई छिटो छरितो र सेवामुखी बनाउन शर्माले २ मिनेटमा उजुरी दर्ता गर्ने र  ३ मिनेटभित्र कारवाही गर्ने लक्ष्य लिएका छन् । सोअनुसार कार्यालय पुग्ने कसैले कुर्नु पर्दैन । सेवाग्राहीको गुनासो तत्काल सुनेर समाधानको पहल गर्छन् । भनसुन गर्न आएकाहरुलाई भने भेट्नै मान्दैनन् ।
 
घटनास्थलमा पाँच मिनेटभित्र प्रहरी पुग्ने उनको अर्को लक्ष्य छ । लामो समयदेखि ठगी कार्यमा संलग्न दुई मेनपावर व्यवशायीलाई समेत उनले पक्राउ गरेर पीडितलाई पैसा फिर्ता गराइदिएका छन् भने एक जनालाई कारवाहीको लागि काठमाडौं नै पठाइदिएका छन् । उनकै पहलमा कोशी अञ्चल यातायात कार्यालयमा भइरहेको दलालीमा कमी आएको छ । यात्रुहरु तान्ने र अभद्र व्यवहार गर्ने बसपार्कका विभिन्न यातायात सेवाका कामदार, कर्मचारीहरुलाई सचेत गराएका छन् । 
 
शर्माको सक्रियतामा दैनिक आधा दर्जन बढी आरोपीहरु कार्यालयको हिरासतमा थुनिन्छन् । उनीहरुलाई एक रात राख्नैपर्ने नियम समेत शर्मा आफैले बनाएका छन् । तर थुनुवा कक्ष भने यातना गृहजस्तै छ । गर्मीको समयमा झ्यालसमेत नभएका कोठामा उनीहरुलाई राख्नुपर्ने बाध्यता शर्मा पोख्छन् । इटहरी नजिकैको तरहरा चौकीले सुविधासम्पन्न भवन पाइसक्दा इटहरी कार्यालय भने अझै पनि ३० सालमा बनेको खोरजस्तो भवनमा छ । तथापी भवन बनाउन प्रक्रिया अघि बढिसकेको उनी बताउँछन् ।
 
भवनबाहेक प्रहरी कार्यालय इटहरीमा प्रहरी अभाव भयो भनेर सबै प्रहरी अधिकृतले गुनासो गर्थे । तर उनी भन्छन्, ‘हाल इटहरी र वरीपरी एक सय ७० प्रहरी छन्, तर सुरक्षाको लागि ५० जना प्रहरी पर्याप्त हुन्छन् ।’

हुन त उनको गतिविधिलाई पनि इटहरीवासीले शंकाको दृष्टिले नहेरेका होइनन् । सुरुमा केही गरेजस्तो गर्ने, पछि सेटिङ मिलाएर चुपचाप बस्ने पुर्व प्रहरी अधिकृत जस्तै शर्मा पनि हुने त होइनन् भन्ने शंका केहीको छ । ‘कुरै नबुझी समातेर थुनेको’ आरोप पनि लाग्ने गरेको छ । तर सर्वसाधारणलाई प्रत्यक्ष प्रभाव पार्ने गुण्डागर्दी, ठगी, वेश्यावृत्ती, चोरी, डकैती लगायतका समस्यालाई गम्भीरतापूर्वक सुनिदिएर समाधानका लागि पहल गरिदिने अनि खराब प्रवृत्तीका प्रहरीलाई कारवाही गर्ने शर्माप्रति अधिकांश नगरवासीले सकारात्मक आशा राखेका छन् ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page