सडकमा डिस्प्ले राखेर विश्वकप फुटबल हेर्न नपाइने

विश्वकप अवधिभर रातभरी मापसे चेकिङःट्राफिक प्रहरी
२७ जेठ, काठमाडौं । बिहीबारबाट ब्राजिलमा शुरु हुन लागेको विश्वकप फुटबल प्रतियोगिता सडकमा बसेर हेर्न नपाइने भएको छ । सडकमै ठूला डिस्प्ले राखेर विश्वकप फुटबलका खेल देखाउँदा दुघर्टना बढ्ने जनाउँदै ट्राफिक प्रहरी महाशाखाले रोक लगाउने भएको हो ।
विश्वकपका अधिकांश खेलहरु नेपाली समयअनुसार मध्यराति हुने भएका छन् । ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका मूल सडक तथा भित्री सडकमा पनि डिस्प्ले राखेर फुटबल हेर्न नदिने भएको हो । ‘यसअघि सडकमै डिस्प्ले राखेर खेलहरु हेर्दा दुघर्टना भएका दृष्टान्त हामीसँग छन्’, ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता बसन्तराज पन्तले अनलाइनखबरसँग भने, ‘सडकबाहेक अन्य सार्वजनिक स्थानमा विश्वकप हेर्न कुनै अवरोध गरिने छैन ।
रातभरी मापसे चेकिङ
ट्राफिक प्रहरीले विश्वकप हुने एक महिनाको समयमा मादक पदार्थ सेवन गरेर सवारी चलाउन नदिन कडाईपूर्वक जाँच अभियान चलाउने भएको छ । मध्यराति विश्वकप हुने भएकाले मापसे गरी सवारी चलाउँदा हुने दुघर्टनालाई रोक्न ट्राफिक प्रहरी महाशाखा सक्रिय हुने भएको हो ।
‘ मध्यरात पछिको समय भएपनि मापसे गरी सवारी चलाउनेप्रति हामी कडारुपमा प्रस्तुत हुन्छौं’, प्रवक्ता पन्तले भने, ‘विश्वकप हेर्ने क्रममा मादक पदार्थ सेवन बढी हुने भएकाले दुर्घटनाको सम्भावना पनि उत्तिकै हुन्छ, त्यसलाई रोक्न हामी सक्रिय हुन्छौं ।’ विश्वकप फुटबलका खेल विहान पौने २ बजेदेखि शुरु हुने भएकाले ट्राफिक प्रहरी रातभरीनै सडकमा मापसे चेकिङ गर्न उभिने भएका छन् ।

Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page