बेरोजगारी र गरिबी मुलुकका प्रमुख राष्ट्रिय समस्या

राष्ट्रिय मत सर्वेक्षण २०१४ ले बेरोजगारी र गरिबीलाई मुलुकका दुई प्रमुख राष्ट्रिय समस्या देखाएको छ।
 
फेब्रुअरी २०१४ मा गरिएको राष्ट्रिय मत सर्वेक्षणमा सहभागि मध्ये ४६ प्रतिशतले बेरोजगारी, ४२ प्रतिशतले गरिबीलाई प्रमुख समस्याको रुपमा औल्याएका छन्। त्यसैगरी २१ प्रतिशत उत्तरदाताहरुले मूल्यबृद्धि, १८ प्रतिशतले विकाश र भौतिक पूर्वाधार निमार्णमा कमि, १५ प्रतिशतले भ्रष्टाचार र ११ प्रतिशतले राजनीतिक अस्थिरतालाई प्रमुख समस्या औल्याएका छन्। 
 
यस अघि सेप्टेम्बर २०१३ र फेब्रुअरी २०१४ मा सम्पन्न गरिएको राष्ट्रिय मत सर्वेक्षणमा प्राप्त नतिजालाई बिश्लेषण गर्दा वेरोजगारी प्रमुख समस्याका रुपमा लिनेहरुको संख्या ३४ प्रतिशतबाट ४६ प्रतिशतमा पुगेको छ । गरिबी प्रमुख समस्या भन्नेहरुको संख्या १ प्रतिशत बढेर ४२ प्रतिशत पुगेको छ। यस्तै भौतिक पूर्वाधारको कमि भन्नेहरुको संख्या १५ प्रतिशतबाट १८ प्रतिशतमा पुगेको देखिन्छ। महंगिलाई प्रमुख समस्याको रुपमा लिनेहरुको संख्या भने सेप्टेम्बर २०१३ मा २३ प्रतिशत भएकोमा फेब्रुअरी २०१४ मा २१ प्रतिशतमा झरेको तथ्यांकले देखाएको छ। 
 
यसै गरी सर्वेक्षणमा सहभागि उत्तरदाताहरुले बाटोघाटो र बेरोजगारीलाई प्रमुख दुई स्थानीय समस्या बताएका छन्। सेप्टेम्बर २०१३ मा सम्पन्न सर्वेक्षणमा बाटोघाटोको समस्यालाई प्रमुख समस्या मान्नेहरुको संख्या ३८ प्रतिशत थियो। फेब्रुअरीमा त्यो संख्या बढेर ४४ प्रतिशत पुगेको छ। यसै गरी नियमित विद्युत आपूूर्तिलाई समस्या मान्नेहरुको संख्या २० प्रतिशतबाट १९ प्रतिशतमा झरेको छ, सिंचाईको कमिभन्नेहरुको संख्या १३ प्रतिशतबाट १२ प्रतिशतमा झरेको छ।
 
घरमा पिउने पानीको कमीलाई समस्याका रुपमा लिनेहरुको संख्या भने १८ प्रतिशतबाट बढेर २३ प्रतिशत पुगेको छ। गरिबीलाई समस्याका रुपमा मान्नेहरुको संख्या भने दुवै सर्वेक्षणमा १७ प्रतिशतमा नै रहेको देखिएको छ। यसरी राष्ट्रिय रुपमा हेर्दा बेरोजगारी र गरिबिलाई नै प्रमुख समस्याका रुपमा तथ्यांकले देखाएको छ भने स्थानीय रुपमा हेर्दा बाटोघाटोको कमि, पिउने पानीको अभाव र नियमित विद्युत आपूर्तिको कमिलाई उत्तरदाताहरुले प्रमुख स्थानीय समस्याका रुपमा लिएको तथ्यांकले देखाउँछ। 
 
स्थानिय तथा राष्ट्रिय समस्याहरु फरक फरक हुने भएतापनि बेरोजगारीलाई स्थानीय तथा राष्ट्रिय रुपमानै प्रमुख समस्याको रुपमा लिनेहरुको संख्या उल्लेख्य रहेको तथ्यांकले देखाउँछ। आर्थिक अभाव, रोजगारीको अभाव, राजनीतिक अस्थिरता, स्वास्थ्य, शिक्षा तथा अन्य विकासका पूर्वाधारहरुको कमजोर अवस्था आदिका कारण पछिल्लो समय मुलुक छाडेर विदेश जाने युवाहरुको संख्या ह्वात्तै बढिरहेको परिप्रेक्ष्यमा सर्वेक्षणमा सहभागिहरु अधिकांशले बेरोजगारी र गरिबीलाई नै प्रमुख समस्याको रुपमा लिनु संयोग नभएर मुलुकको वास्तविकता भएको तर्फ यसले इंगित गर्दछ। 
 
राष्ट्रिय मत सर्वेक्षण आईडिए (ईन्टर डिसिप्लिनेरी एनालिष्ट) ले स्थानीय सञ्चार माध्यमको शसक्तिकरण तथा सूचनामा पहुँचका क्षेत्रमा काम गर्ने अर्न्तराष्ट्रिय गैह्रसरकारी संस्था ईन्टर न्युजसंगको सहकार्यमा सेप्टेम्बर २०१३ र फेबु्रअरि २०१४ मा सम्पन्न गरेको थियो। ईन्टरन्युजले स्थानीय सरोकारका बिषयमा नागरिकहरुको धारणा के छ? र ती बिषयहरुमा उनिहरु के सोच्दछन्? भन्ने वारेमा राष्ट्रिय्मत सर्वेक्षण गर्ने र प्राप्त तथ्यांकलाई बिभिन्न ढाँचा तथा तालिकामा राखेर नेपाली मिडियाहरुलाई प्रदान गर्ने कार्य गर्दै आईरहेको छ।







Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page