२० जेठ, काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेसका पार्टी सभापति सुशील कोइरालाले केन्द्रीय कार्य समिति बैठक अनिश्चितकालसम्म छल्न खोजेको र संसदीय दलको बैठकसमेत राख्न छाडेको भन्दै संस्थापन पक्षकै नेताहरु असन्तुष्ट बनेका छन् । सरकारको नीति कार्यक्रम र बजेट बनाउने बेलामा समेत कोइरालाले पार्टीभित्र पर्याप्त छलफल गर्न नचाहेको भन्दै पार्टीमा अशन्तुष्टी चुलिएको हो ।
कोइराला पक्षमै असन्तुष्टि
सरकार गठनसँगै असन्तुष्ट भएका कोइराला निकटकै नेताहरु पनि प्रधानमन्त्री तथा पार्टी सभापतिले बैठक नै नराखेर आफ्नो आलोचना छल्न खोजेको निष्कर्षमा पुगेका छन् । केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले पार्टी र संसदीय दलका बैठक नबस्दा सरकारका काम कारवाही बारे कांग्रेसका सभासदले के बोल्ने भन्ने संयोजन समेत हुन नसकेको बताए ।
‘मैले त यो सरकार र पार्टीको बारेमा आफ्नो कुरा सार्वजनिक रुपमै राखिरहेको छु, पार्टीको बैठक बस्न छाड्यो, संसदीय दलमा सभासदले आफ्ना कुरा राख्न पाउदैनन् । यस्तो पाराले सरकार पनि असफल हुन्छ, पार्टी पनि कमजोर हुन्छ’ केसीले भने ‘तर प्रधानमन्त्रीजीले पार्टीका साथीहरुसँग सल्लाह गर्ने फुर्सद नै निकाल्न सक्नुभएको छैन’ ।
देउवा पनि असन्तुष्ट
पार्टी केन्द्रीय कार्य समितिको बैठक नबसेकोमा शेरवहादुर देउवा पक्षले पनि आपत्ति जनाएको छ । बरिष्ठ नेता शेरवहादुर देउवा, उपसभापति रामचन्द्र पौडेललगायतले कोइरालालाई केन्द्रीय कार्य समितिसँग फेस गरेर अघि बढ्न सुझाव दिए पनि उनले चासो नदिएको केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले अनलाइनखबरलाई बताए ।
‘सरकारका काम कारवाहीप्रति जनता र कार्यकर्तामा व्यापक असन्तुष्टि छ, तर पार्टीको बैठकसमेत नराखेर छल्न खोजिएको छ’ देउवा पक्षीय नेता श्रेष्ठले भने ।
‘सरकारको नीति तथा कार्यक्रम, बजेट जस्ता विषयमा पार्टी र संसदीय दलको बैठकमा पर्याप्त छलफल गर्नुपर्ने हो, तर प्रधानमन्त्रीबाट त्यस्तो संकेत देखिएको छैन’ केन्द्रीय सदस्य तथा सभासद मीन विश्वकर्माले भने ।
‘सरकारको नीति तथा कार्यक्रम, बजेट जस्ता विषयमा पार्टी र संसदीय दलको बैठकमा पर्याप्त छलफल गर्नुपर्ने हो, तर प्रधानमन्त्रीबाट त्यस्तो संकेत देखिएको छैन’ केन्द्रीय सदस्य तथा सभासद मीन विश्वकर्माले भने ।
रामचन्द्रलाई कार्यवाहक खोइ ?
कोइराला प्रधानमन्त्री भएपछि केन्द्रीय कार्य समिति बैठक नै बस्न नसकेको कारण पार्टी लथालिङ्ग अवस्थामा पुगेको पौडेल पक्षको आरोप छ । संसदीय दलको नेता चयन हुने बेला पौडेललाई कार्यवाहक सभापति दिने सहमतिबाट समेत कोइराला पछि हटेकाले कोइराला पौडेल सम्बन्ध चिसिएको छ ।
‘कार्यवाहक सभापति दिने सहमति भएकै हो, तर सुशील’दाका वरिपरि बस्ने केही मान्छेले गर्दा भद्र सहमति कार्यान्वयन भएन’पौडेल निकट एक प्रभावशाली केन्द्रीय सदस्यले भने ‘यो कुरा उठ्छ भनेर उहाँले बैठक नै बोलाउन छाड्नुभएको हो’ । पौडेलले कार्यवाहक दिनुपर्नेमा डा. शेखर कोइरालाले पनि लबिङ गरेका थिए ।

पार्टीभित्र नीति कार्यक्रम र बजेटबारे कोइरालाले छलफल चलाउन नचाहे पनि आफूले आफ्नो विभागमार्फत लिखित सुझाव दिएको पौडेलको भनाइ छ । ‘हामीले पार्टीको घोषणापत्र अनुसार जनता समक्ष गरेका प्रतिबद्धता पूरा हुनेखालका नीति कार्यक्रम र बजेट ल्याउन सुझाव दिएका छौं’ पौडेलले भने ‘सुझाव ग्रहण गर्ने नगर्ने उहाँहरुको कुरा हो’ ।