यातायातको सिन्डिकेटले होटल व्यवसायी पनि मर्कामा
पर्यटकीय जिल्ला म्याग्दीका साना ठूला होटलहरुमा डेढ अर्ब भन्दा बढिको लगानी रहेको छ।
म्याग्दी होटल तथा रेष्टुरेन्ट व्यवसायी संघमा दर्ता भएका १ सय ४६ वटा होटल तथा रेष्टुरेन्टहरुमा मात्रै डेढ अर्ब भन्दा बढिको लगानी रहेको म्याग्दी होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष गोपाल पौडेलले बताए ।
अध्यक्ष पौडेलले जिल्लामा पर्यटक लक्षित स्तरीय होटलहरुको संख्या २५ रहेको र अन्य होटलहरुको पनि स्तरवृद्धि गर्ने काम भइरहेको जानकारी दिए।
राउण्ड अन्नपूर्ण,राउण्ड धौलागिरी,प्रशिद्ध पर्यटकीय स्थल घोडेपानी,पुनहिल,लगाएतका प्राकृतिक सुन्दरताले पूर्ण प्रशस्तै पर्यटकीय स्थलहरु रहेको म्याग्दी मुक्तिनाथ प्रवेशद्धार समेत भएकोले यहाँ वर्षेनी हजारौं स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
राउण्ड अन्नपूर्णको यात्रामा आउने अधिकाँश पर्यटकहरुको मुख्य आकर्षण स्थल मानिएको घोडेपानीमा मात्रै पर्यटकहरु वास वस्न लायकका ३४ वटा होटलहरु रहेका र ती होटलहरुमा मात्रै ४५ करोड भन्दा वढिको लगानी रहेको घोडेपानी होटल व्यवसायी संघका अध्यक्ष डमवहादुर पुनले वताए।
म्याग्दी होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष पौडेलका अनुसार उद्योग वाणिज्य संघ म्याग्दीमा व्यवसाय दर्ता गरी पान नम्वर लिएका होटल तथा रेष्टुरेन्टहरु म्याग्दी होटल तथा रेष्टरेन्ट व्यवसायी संघमा दर्ता नभएका र ती होटल तथा रेष्टुरेन्टहरुमा भएको लगानीका वारेमा संघमा कुनै जानकारी आएको छैन।
सदरमुकाम बेनीमा संचालित पर्यटक लक्षित स्तरीय होटलहरुमा होटल यति,डल्फिन ,याक, नमस्ते,शिखर,मुस्ताङ लेते गेष्टहाउस,कलस लगाएत रहेका छन्।
पर्यटक लक्षित स्तरीय होटलहरुमा सूचना प्रविधिका अत्याधुनिक प्रविधीहरुको पहुँचदेखि लिएर स्वस्थ खाना र आरामदायी वसाईको व्यवस्था रहेको होटल व्यवसायीहरुले वताएका छन्। होटल व्यवसायीहरुलाई स्थानीय प्रशाशनले अनावश्यक रुपमा दुःख दिने गरेको गुनासो पनि होटल व्यवसायीहरुको रहेको छ। 'राष्ट्रका नीति निर्माता मानिने उच्च पदस्थ व्यक्तिहरु, मन्त्री र प्रधानमन्त्रीहरु होटलमा वसेर सेमिनार बैठक गर्छन, तिनकै मातहतमा रहेका स्थानीय प्रशाशनले भने अनावश्यक रुपमा होटल रेष्टुरेन्टहरुको वदनाम गर्ने गर्दछ' होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ म्याग्दीका अध्यक्ष पौडेलले भने।
अध्यक्ष पौडेलका अनुसार म्याग्दी यातायातमा रहेको सिण्डिकेटका कारण पनि होटल व्यवसाय प्रभावित वनेको छ। 'अनावश्यक रुपमा म्याग्दीलाई वदनाम गर्ने काम भइरहेको छ , यातायात व्यवसायी र स्थानीय प्रशाशनले तुरुन्तै समाधानको उपाय निकालि म्याग्दी भित्रिने पर्यटकहरुमा कम्तीमा पनि एक दिन बेनीमा वस्ने वातावरण मिलाउन सक्नु पर्दछ' अध्यक्ष पौडेलले वताए।