राष्ट्र बैंकले खारेज गर्‍यो सात सहकारीको इजाजत

१२ असार काठमाडौं । नेपाल राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने सात सहकारी संस्थाहरुको इजाजत खारेज गरेको छ । विभिन्न समयमा राष्ट्र बैंकले दिएको निर्देशन पालना नगरेपछि संस्थाहरुको इजाजत खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ ।
nrbराष्ट्र बैंकले १५ वटा सहकारी संस्थालाई वित्तीय कारोबार गर्ने इजाजत दिएको थियो । राष्ट्र बैंकले सर्लाहीको राजश्री सेभिङ एन्ड क्रेडिट, काठमाडौंका युनाइटेड बचत तथा ऋण सहकारी संस्था, अमरावती ऋण तथा बचत तथा ऋण सहकारी संस्था नयाँबानेश्वर, नेपाल सहकारी संस्था लिमिटेड र यति बचत तथा ऋण सहकारी संस्थाको इजाजत रद्द गरेको हो ।
त्यसैगरी बिराटनगरस्थित मायालु यातायात सहकारी संस्था र ललितपुरको पुल्चोकस्थित नेसनल डेभलपमेन्ट को-अपरेटिभ सोसाइटीको इजाजत पनि रद्द गरेको छ । यी संस्थाहरुको खारेजी २०६० साल यता भएको हो ।
ती सहकारी संस्थाहरुलाई राष्ट्र बैंकले पटक-पटक सुधारको अवसर प्रदान गर्दा पनि संस्थामा कुनै सुधार नआएपछि इजाजत नै रद्द गरिएको हो । तत्कालीन सरकारले २० वर्षअघि राष्ट्र बैंकको स्वीकृति लिएर सहकारी संस्थाले बचत तथा ऋणको कारोबार गर्न पाउने व्यवस्था गरेअनुसार १७ सहकारीले राष्ट्र बैंक बाट इजाजत लिएका थिए । तर, संस्थाहरु व्यावसायिकरुपमा सञ्चालन हुन नसकेपछि राष्ट्र बैंकले इजाजत नै खारेज गर्नु परेको हो ।
पछिल्लो समयमा पनि सहकारी विभागबाट इजाजत लिएर बग्रेल्ती खुलेका डेढ सय सहकारी संस्था समस्याग्रस्त छन् । ती संस्थाहरुले सर्वसाधारणको करिब १० अर्ब रुपैयाँ निक्षेप भुक्तानी गर्न सकेका छैनन् ।
देशभर सहकारी संस्थाहरुको संख्या करिब ३० हजार छ । जसमा १३ हजार सहकारीले बचत तथा ऋणको कारोबार गर्दै आएका छन् ।

Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page