सरकारी तलवमान अनुसार सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रिएका कर्मचारीलाई प्रहरीले शुक्रबार पक्राउ गरेपछि स्टाफ नर्स, प्राविधिक र कर्मचारीहरुले आकस्मिक बाहेकका सेवा ठप्प पारेका हुन् ।
सर्वोच्च अदालतको अन्तरिम आदेश कार्यान्वयन गराउन प्रहरीले ४८ जना भन्दा बढी कर्मचारी शुक्रबार पक्राउ गरेपछि कर्मचारीले सेवा बन्द गराएका हुन् । प्रतिष्ठानका स्टाफ नर्स, प्रशासनिक कर्मचारी, प्राविधिक, सरसफाइ हेल्परलगायत सबै कर्मचारीहरु आइतबार बिहानैदेखि उपकुलपति भवन अगाडि धर्नामा बसेका छन् ।
पूर्वी नेपालकै प्रतिष्ठित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दैनिक १२ सय भन्दा बढी बिरामी उपचारका लागि आउने गर्छन् । कर्मचारी स्वास्थ्य प्राविधिक र स्टाफ नर्सले धर्नामा बसेपछि त्यहाँ आउने बिरामी मर्कामा परेका छन् ।
आन्दोलनले अस्पताल अस्तब्यस्त बनेपछि समस्या समाधान गर्न सुनसरीका कार्यबाहक प्रमुख जिल्ला अधिकारी चण्डेश्वर पोख्रेल सहितको टोली प्रतिष्ठानमा पुगेको छ । बार्ताका लागि पोखरेल सहितको सरकारी टोली गएपनि आन्दोलनरत कर्मचारीहरुले राजनीतिक दल, नागरिक समाज, सरोकारवाला निकाय सबैको उपस्थितिमा सर्वपक्षीय वार्ता गर्नुपर्ने माग राखेका छन् ।
