जेठ १८ – अफगानिस्तानमा तालिवानको नियन्त्रणमा रहेका एक जना अमेरिकी सैनिक पाँच वर्ष पछि मुक्त भएका छन् ।
अमेरिकी सेनाका २८ वर्षका सार्जेन्ट बोव बेर्गेडेललाई पाँच वर्ष नियन्त्रणमा राखेर तालिवानले मुक्त गरेको छ । आफ्ना सैनिकलाई छुटाउन अमेरिकाले ग्वान्टानामो बेको जेलमा रहेका पाँच जना अफगान कैदीलाई रिहा गरेको छ ।
ती कैदीलाई अमेरिकाले यो विषयमा मध्यस्थता गरिरहेको कतारको जिम्मा लगाएको छ । बेर्गेडेल तालिवानको नियन्त्रणमा रहेका एक मात्रै अमेरिकी सैनिक थिए ।
अमेरिकी राष्ट्रपति ओबामाले बेर्गेडेलको रिहाई युद्ध क्षेत्रमा कुनै पनि सैनिकलाई नछोड्ने प्रतिवद्धता अनुसार नै भएको बताएको बिबिसीले जनाएको छ । सन् २००९ को जुन ३० तारिखमा तालिवानले अपहरण गरेका बेर्गेडेललाई शनिवार बेलुकी मुक्त गरिएको समाचारमा उल्लेख छ ।
