काठमाडौँ, २२ जेठ । प्रधानमन्त्री सुशील कोइराला चीनको युनान प्रान्तको कुन्मिङ सहरमा आयोजना हुने दोस्रो चीन दक्षिण एसिया व्यापार मेलामा विशेष अतिथिका रुपमा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभयो ।
उहाँ चीन सरकारको निमन्त्रणामा ३३ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै विशेष विमानबाट चीन प्रस्थान गर्नुभएका हो । भ्रमण टोलीमा विभिन्न राजनीतिक दलका प्रतिनिधि एवम् सभासदहरू, प्रधानमन्त्रीका सल्लाहकारहरू, उच्चपदस्थ सरकारी अधिकारी र चीनका लागि नेपाली राजदूत सम्मिलित हुनुहुन्छ ।
प्रधानमन्त्री कोइरालाले चीनमा रहँदा चीनका उपप्रधानमन्त्री वाङ याङलगायत विभिन्न देशबाट आएका आफ्ना समकक्षीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चीनको युनान प्रान्तको कुन्मिङमा यही जेठ २३ देखि २७ गतेसम्म दोस्रो चीन–दक्षिण एसिया व्यापार मेला हुन लागेको हो ।
दक्षिण एसिया र दक्षिया पूर्वी एसियाका नेताहरू सहभागी हुने उक्त मेलाको उद्घाटन समारोहमा प्रधानमन्त्री कोइरालाले ‘विशेष अतिथि’का रुपमा सम्बोधन गर्नुहुनेछ । त्यसपछि प्रधानमन्त्री कोइरालाले मेलामा बनाइएको नेपाली कक्षको उद्घाटन गर्ने कार्यक्रम छ ।
कुल ८० स्टल रहने उक्त कक्षमा निर्यातयोग्य नेपाली उत्पादनहरू राखिनुका साथै नेपाली वस्तु, संस्कृति र पर्यटनबारे सूचना प्रवाह गर्ने व्यवस्था गरिएको छ । नेपाली सांस्कृतिक टोलीले मेलामा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गर्नेछ ।
सो मेलामा भाग लिन वाणिज्य तथा आपूर्ति मन्त्री सुनील थापा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिजो राति चीन प्रस्थान गरिसक्नुभएको छ ।
सो मेलामा नेपालले नवौँ चीन–दक्षिण एसिया व्यापारिक मञ्चको अध्यक्षता ग्रहण गरेकाले नेपाल उद्योग वाणिज्य महासङ्घले प्रतिष्ठित नेपाली उद्यमीहरू सम्मिलित एक बेग्लै प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछ ।
युनानको प्रान्तीय सरकार र चीनको वाणिज्य मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजना गरिने यो व्यापारिक मेलामा दक्षिण एसिया र दक्षिणपूर्वी एसियाका ४६ राष्ट्रको सहभागिता रहने बताइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री कोइरालालाई सभामुख, उपप्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ कर्मचारी र सुरक्षा निकायका प्रमुखलगायतले बिदाइ गर्नुभएको थियो ।
प्रधानमन्त्री कोइराला शुक्रबार साँझ स्वदेश फर्कनुहुने कार्यक्रम छ । रासस