२२, जेठ काठमाडौं । जेठ ३० गतेका लागि निर्धारित नेकपा एमालेका महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन एक साता पछि धकेलिएको छ । कतिपय प्राबिधिक र व्यवस्थापकीय तयारी नपुगेका कारण एक साता पर सारिएको महासचिव इश्वर पोखरेलले जानकारी दिए ।
परिवर्तित तालिका अनुसार असार ७ गते देशभरका सबै जिल्ला कमिटी, जनवर्गीय संगठन लगायत सबै निकायमा महाधिवेशन प्रतिनिधिको निर्वाचन हुनेछ । ‘असार ८ गते उपचुनाव हुने काठमाडौं, चितवन, बर्दिया र कैलाली बाहेकका सबै ठाउँमा एकै दिन असार ७ गते प्रतिनिधि छनौट गर्नुपर्नेछ’ महासचिव पोखरेलले अनलाइनखबरसँग भने ‘कुन जनवर्गीय संगठनले कति प्रतिनिधि पठाउन पाउने भन्ने तय हुदैछ’ ।
कति सदस्य बराबर एक प्रतिनिधि भन्ने टुंगो लगाउन पनि बाँकी रहेको पोखरेेलले बताए । देशभर र प्रवासका समेत गरि पार्टी सदस्यको अन्तिम नामावली र संख्या आएपछि अनुपात छुट्याउने संगठन बिभागले जनाएको छ ।
हालसम्म २ लाख ५० हजार संगठित सदस्यको अभिलेख तयार भइसकेको छ । अरु चार/पाँच जिल्लाको समेत आएपछि सदस्य संख्या करीव २ लाख ६० पुग्ने अनुमान गरिएको एमाले संगठन बिभागका सचिव ज्ञानवहादुर भुजेलले बताए । कम्तिमा ३ सय सदस्य बराबर एक प्रतिनिधिको व्यवस्था हुने सम्भावना रहेको स्रोतले जनाएको छ । त्यसो गर्दा कतिपय साना र थोरै सदस्य भएका जिल्ला मर्कामा पर्ने भएकाले उनीहरुका हकमा विशेष व्यवस्था गर्नेबारे समेत छलफल भइरहेको छ ।
पार्टी सदस्य संख्या बढेका कारण महाधिवेशन प्रतिनिधिको संख्या १९ सय भन्दा ननाघ्ने गरि अनुपात मिलाइने सचिव युवराज ज्ञवालीले बताए । १९ सय मध्ये सबै केन्द्रीय कमिटी, सल्लाहकार, अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग, जेष्ठ कम्युनिस्ट मन्च लगायत केन्द्रीय निकायबाटै करिव ३ सय प्रतिनिधि स्वतः सहभागी हुने भएकाले तलबाट निर्वाचित भएर आउनेको संख्या १६ सय लगभग हुनेछ ।