बिक्यो लोडसेडिङ एप्प

loadsesding app
नेपालमा हरेकको मोबाइलमा डाउनलोड भएको, निर्माणको दुई वर्षमै अधिक चर्चा कमाएको नेपाल लोडसेडिङ एप्प बिक्री भएको छ । सुरुमा २० लाख रूपैयाँ नगद र १० वर्षसम्म आम्दानीको १० प्रतिशत सेयरसमेत पाउने गरेर डेपलपरले एप्प बेचेका हुन् । नगद र सेयरसमेत झन्डै १ करोड रूपैयाँ कमाउने सम्भवतः यो नै पहिलो नेपाली एप्प हो ।
काठमाडौ, श्रावण ४ - कसैलाई लोडसेडिङले समस्याको पहाड खडा गरेको छ, त्यसैले केहीलाई कमाइको राम्रो माध्यम पनि दिएको छ । लोडसेडिङ नहुँदो हो त चन्द्र/एलिजा श्रेष्ठ दम्पतिले डेभलप गरेको सामान्य एप दुई वर्ष नपुग्दै कर्पोरेट हाउसको आँखामा पर्ने थिएन । धेरैको आँखा लागेको, ५ लाखभन्दा बढी युजर बेस भएको नेपाल लोडसेडिङ एप २० हजार डलर (करिब २० लाख रूपैयाँ) र आगामी १० वर्षसम्म १० प्रतिशत रेभेन्यु सेयर पाउने गरेर श्रेष्ठ दम्पत्तिले सिरान टेक्नोलोजीलाई बेचेका छन् ।
सुरुमा २० लाख रूपैयाँ नगद मात्रै देखिए पनि १० वर्षसम्म त्यसको कमाइको हिस्सा नियमित पाइने भएकाले उनीहरूको एउटै एप्पबाट हुने कमाइ करोड नाघ्ने अनुमान गर्न सकिन्छ । तनहुँका चन्द्र र काठमाडौं शङ्खमुलकी एलिजाले पुल्चोक क्याम्पसबाट ५ वर्षअघि सँगै इन्जिनियरिङ सकेका थिए । त्यसपछि उनीहरूले भेरिक्स भन्ने कम्पनीमा सँगै डाटा एनालाइसिसको काम गरे । यसबीचमा चन्द्र यूएस बेस अफिसमा काम गर्न गए । फकर्दा उनले साथमा ल्याए, एउटा एन्ड्रोइड फोन ।
त्यही फोन देखेर एलिजाले आइडिया ल्याइन, यस्तो मोबाइलमा आफूले भोग्दै आएको लोडसेडिङको तालिका दिने एप्प किन नबनाउने ? यसअघि उनीहरूले एन्ड्रोइड प्लेटर्फमका लागि कुनै एप्प डेभलप गरेका थिएनन् । 'हातमा मोबाइल थियो,' चन्द्रले सुनाए, 'ट्राइ गरौन त भनेर हामी बस्यौं ।' दुई दिनमा उनीहरूले एप्प डेभलप गरे । त्यसलाई एप्प स्टोरमा राखे । त्यतिखेर इन्टरनेट भएका बेला मात्र हेर्न मिल्ने थियो ।
'त्यसपछि हामीले चिनेका साथीहरूसँग एप्पको रिभ्यु गर्न लगायौं, फिडब्याक माग्यौं,' एलिजाले भनिन्, 'फिडब्याक कलेक्ट गरेर फिचर इन्ह्यान्स गर्दै त्यसलाई रिलिज गर्‍यौं ।' त्यतिखेर लोडसेडिङ महामारी जस्तै भएको थियो, अहिले कहाँ कम भएको छ र ? त्यसपछि फिडब्याकको ओइरो लाग्न थाल्यो । काम गर्दा गर्दै बत्ती गएर हैरान हुनेलाई मोबाइलमै तालिका प्राप्त हुँदा साँच्चै उपयोगी भयो । उनीहरूले त्यसमा प्रयोगकर्ताको चाहना अनुसार त्यसमा उपलब्ध हुने सूचना बढाउँदै लगे ।
उनीहरूलाई दैनिक ५ सय युजरले धन्यवाद दिएर, जिज्ञासा राखेर, सुझाव दिएर ई-मेल पठाउँथे । त्यसले उनीहरूलाई अझ उर्जा थपिन्थ्यो । अहिले हरेकको स्मार्टफोनको अनिवार्य एप्प भएको छ, नेपाल लोडसेडिङ । नेपाली एप्समध्ये ५ लाखभन्दा बढी डाउनलोड हुने मात्र तीन एप्समा हाम्रो पात्रो, नेपाली पात्रो सँगै छ नेपाल लोडसेडिङ । 'प्रोडक्ट जति राम्रो भए पनि १० हजारभन्दा बढी डाउनलोड नहुने एप्स धेरै छन्,' चन्द्रले भने, रिलिज गरेको २ वर्ष नपुग्दै ५ लाख २० हजार पटक डाउनलोड हुने एप्पमा पर्नु हाम्रा लागि गौरव हो ।'
यसका अधिकांश प्रयोगकर्ता नेपाली छन् । नेपालमै लोडसेडिङ छ त बाहिरकाले कसरी प्रयोग गरुन् ? युजरबेस धेरै भएपछि धेरैको आँखा लाग्नु स्वभाविकै हो । फरक खालको विज्ञापन एप क्यास अनएड डेभलप गरेको सिरानटेकले उसको विज्ञापन नेपाल लोडसेडिङमा गर्नेबारे कुरा गर्न चन्द्रलाई बोलाएको थियो । त्यही सिरानटेकका अधिकारीले उनलाई एप्प बेचे मागे अनुसारको रकम दिने प्रस्ताव गरे । नेपालमा सधै लोडसेडिङ रहन्छ भन्ने छैन । लोडसेडिङ हटेपछि त्यसको उपयोगिता पनि सकिन्छ ।
त्यतिखेर के गर्ने ? श्रेष्ठ दम्पत्ति दोधारमा थिए । त्यसैले उनीहरू नयाँ प्रोडक्टको डेभलपमा लागिसकेका छन् । भविष्य नभएको प्रोडक्टमा सिरानटेकले किन आखा लगायो त ? उसलाई आकषिर्त गरेको एप्पको युजर बेसले हो । त्यतिधेरै प्रयोगकर्ता भएका एप्स नेपालमा कमै छन् । एप्समा नयाँ फिचर थपेर, युजरलाई प्रयोग गरेर धेरै फाइदा लिन सकिने उसले सोचेको छ । चन्द्रले आफ्नो नयाँ प्रोटक्टलाई लोडसेडिङ एप्पका युजरमार्फत मार्केटमा लैजान पाउने सर्तमा सिरानटेकको प्रस्ताव स्वीकारको बताए ।  
दुवै पक्षबीच भएको डिलअनुसार सिरानटेकले सुरुमा २० लाख रूपैयाँ चन्द्र दम्पत्तिलाई तिर्नेछ । त्यसपछि हरेक वर्ष एप्सले जेनरेट गरेको रेभेन्युको १० प्रतिशत उनीहरूले पाउने छन् । त्यसो त अहिले एप्समा डिस्पे हुने विज्ञापनबाट उनीहरूले मासिक ५ सय डलर कमाउँदै आएका थिए । उनीहरूको एपको अपरेटिङ कस्ट खासै छैन । सुरुमा ड्रप बक्सले प्रदान गर्ने स्पेस सित्तैमा युज गरेका उनीहरूले युजर संख्या बढ्दै गएपछि उसलाई केही डलर तिर्दै आएका थिए ।
भर्खरै अर्को सर्भर प्रयोग गर्न थालेका उनीहरूको अहिलेसम्मको अधिकतम खर्च १ हजार डलर मात्रै रहेको चन्द्र सुनाउँछन् । सिरानटेकले सुरुमा तिरेको रकम हेर्दा नेपाल लोडसेडिङका प्रतियुजर करिब ४ रूपैयाँ पर्न आउँछ । उसले ती युजरलाई प्रयोग गरेर प्रति व्यक्ति १० रूपैयाँ कारोबार गराउन सके तत्काल नाफा कमाउन सक्ने देखेको छ । सिरान टेकका प्रमुख कार्यकारी अधिकृत सजत श्रेष्ठले लोडसेडिङ एपमा धेरै सम्भावना देखेर खरिद गरेको बताए ।
'यसमा विद्युत सम्बन्धी समाचार, सूचना, आयोजना सबै समेट्न सकिने देखेका छौं,' उनले भने, 'छिट्टै नयाँ फिचर थपेर अपग्रेडेड भर्सन सार्वजनिक गर्दैछौं । नेपाली एप्प यति धेरै मूल्यमा विकेको, यति धेरैको मोबाइलमा डाउनलोड भएको सम्भवतः पहिलो हो । 'एउटा सामान्य एप्सले यति मूल्य, यति चर्चा पाउला भनेर सोचेकै थिएनौं,' चन्द्र भन्छन्, 'प्रयोगकर्ताबाट आउने फिडब्याकका आधारमा फिचर थपेर स्याटिस्फ्याक्सन लिदैं आएका थियौं ।' एप्स डेभलप गर्दाको सहकार्यकै क्रममा चन्द्र र एलिजा दम्पत्ति बनेका हुन् ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page