हर दिन युद्ध !


Road
काठमाडौ, श्रावण ३ - कहिले सडक विस्तार त कहिले खानेपानीको पाइप, अनि कहिले ढल खन्नेजस्ता काम काठमाडौं सहरमा निरन्तर छ । वर्षाको पानीले ताल परेका सडक वा फुटपाथै ढाक्ने गरी भत्काइएका घरहरू, सहरको स्वरूप सुन्दर बन्न सकिरहेको छैन । लाग्छ, सहरमा कुनै युद्ध चलिरहेको छ । गोलाबारीले तहसनहस बनाएको पुरानो सहरको रंग उडेको फोटोजस्तो चुपचाप काठमाडौं । वर्षाका बेला पैदल यात्रीका लागि काठमाडौं- यात्रा साँच्चिकै कुनै युद्धभन्दा कम छैन ।
दुई-ढाई वर्षअघि सुरु सडक विस्तार नसकिएकाले हाल काठमाडौंको धेरै भाग हिँड्ने नसकिने छ । पुरानो बानेश्वर, भीमसेन गोलादेखि बालकुमारी सातदोबाटोजस्ता धेरै क्षेत्रमा सडक बिगि्रएको छ । हिलो र पानी छलेर हिँड्नु ठूलो सास्ती हुन्छ । फुटपाथै नहुने, भए पनि पसलका सामान वा रोडा-बालुवाको अतिक्रमण, हिलो र धूलोले गर्दा काठमाडौंमा मजाले हिँड्न सकिँदैन । माइतीघरदेखि बानेश्वरसम्मको जस्तो केही सडक बनिसकेको ठाउँमा भने फुटपाथ पनि राम्रा बनिरहेका छन् ।
तर, यस्ता बनिसकेका सडक फेरि खन्ने तयारीमा सरकारी निकायहरू छन् । मेलम्ची खानेपानी आयोजनाका लागि पाइप र ढल बिछ्याउन खन्ने काम भइरहेको छ । प्रधानमन्त्री कार्यालयका सहसचिव लक्ष्मण अर्यालका अनुसार खानेपानी र ढलको काम सन् २०१७ सम्म चल्न सक्छ । 
'एउटै मन्त्रलायको काम त मिलाएर गर्न हामीलाई गाह्रो छ, यसमा त धेरै निकायको काम छ,' काठमाडौं महानगरपालिकाका पूर्वकार्यकारी अर्यालले भने । विस्तारित सडकमा अधिकांश ठाउँमा ढल राखिसकिएकाले यसलाई कम असर पर्ने पनि उनले बताए । पैदल यात्रीका लागि यसमा अशुभ समाचार के छ भने, खानेपानी र ढलका लागि खन्दा सडक नबिगार्ने नीतिअन्तर्गत धेरै ठाउँमा 'फुटपाथ' पहिले खनिँदैछ । नीतिगत रूपमा सडकमा पहिलो प्राथमिकता पैदलयात्रीलाई दिने भनिन्छ । तर, तपाईंलाई कसैले बाटो काट्दा प्राथमिकता दियो भने तपाईं भाग्यमानी हुनुहुनेछ ।
मेट्रो रेल, ट्राम वा ठूला बस नभएकाले होला काठमाडौंको सार्वजनिक यातायात चुस्त छैन । हरेक दिन कुपि्रएर, झुन्डिएर वा दबिएर यात्रा गर्ने मानिसका लागि सार्वजनिक यातायात पनि एउटा युद्ध नै हो, जहाँ संविधानसभामा जस्तो सिट खाली देख्न सित्तिमित्ति पाइँदैन ! त्यसमाथि बिगि्रएका सडक र भत्किएका पेटीको यात्राले छोटो दूरीको यात्रालाई पनि थकानपूर्ण संघर्षमा परिणत गरिदिन्छ । पानीको हाहाकार हुने सहरमा कपडा धूलो र धूवाँले कपडा मैलिने झन्झट त झन् बेग्लै छ ।
काठमाडौंमा ढल, बिजुली र पानीका लागि आजसम्म जति खनिएको छ, त्यति नै श्रम लगाउने हो भने हरेक कुनामा नयाँ टोलको निर्माण हुन्थे होला ।

वर्षामा हिलो र हिउँदमा धूलो काठमाडौंको सदाबहार विशेषता हो । पछिल्ला वर्षमा महँगी, विषादीयुक्त खानेकुरा र दूषित हुँदै गएको हावा यसमा थपिएका छन् भने अर्कातिर बन्दै गइरहेको सहर पनि छ । ठूला र व्यवस्थित घर तथा चौडा सडकको झल्को देख्न थालिएको छ । सडक यस्तो चिज हो, जो नभत्काई वा नखनी बन्दैन । योजना नबनाई, एउटा निकायले बनाउन नपाई अर्को गैंती लिएर अघि सर्नुले चाहिँ अत्यास बढाएको हो ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page