अर्बौंको हतियार खरिदमा सेनाको आँखा

अर्बौंको हतियार खरिदमा सेनाको आँखा
काठमाडौं। देश संक्रमणकालमा रहेको छ। राष्ट्रले संविधान र स्थायी सरकार कहिलेसम्म पाउने हो अत्तोपत्तो छैन। प्रमुख राजनीतिक दलहरू अनावश्यक विषयमा गलफत्ती गरेर महत्वपूर्ण समयलाई लात मारिरहेका छन्। अन्योलपूर्ण अवस्थामा सकेजति ब्यक्तिगत फाइदा लुट्न मन्त्री, नेता, सरकारी निकायका हाकिमहरूको दौडधुप चलिरहेछ।
मौकामा चौका हान्न नेपाली सेनाले ४ अर्ब रुपैयाँमा एकथान अगष्टल्याण्ड हेलिकोप्टर खरिद गर्ने तयारी गरेको कुरा रक्षा स्रोतबाट थाहा भएको छ।  यस सम्बन्धी अध्ययन गर्न नेपाली सेनाको ठूलो टिम २०७१ कात्तिक १६ गते बिहान इटाली प्रस्थान गरेको समाचार छ। चार अर्ब पर्ने भनिएको हेलिकोप्टर अध्ययन भ्रमण टिममा उपरथी हिमालय थापा, सहायक रथी शरद गिरी, महासेनानी कुमार रायमाझी, प्रमुख सेनानी मानबहादुर कार्की र विजय केसी हेलिकोप्टर कम्पनीको खर्चमा इटाली गएका हुन्। हेलिकोप्टर कम्पनीको आतिथ्यमा रक्षा मन्त्रालयका उपसचिव प्रेम उप्रेती समेत सो टिममा संलग्न छन्। नेपाली दलाल र हेलिकोप्टर कम्पनीको खर्चमा सातजना ब्यक्ति अध्ययनका नाममा इटाली भ्रमणमा गएका हुन्।
देश संक्रमणकालमा रहेको अवस्थामा भीभीआइपीलाई सर्भिस दिने नाममा नेपाली सेनाले अति महंगो हेलिकोप्टर खरिद गर्ने प्रस्ताव सरकार समक्ष प्रस्तुत गरेको छ। नेपाली सेनाको हेडक्वाटर स्रोतका अनुसार, नेपाल जस्तो गरिब राष्ट्रले यसको मर्मत संभार गर्न सक्ने हैसियत नै राख्दैन। यही अगष्टल्याण्ड हेलिकोप्टर भारतले १० थान खरिद गर्दा ठूलो काण्ड मच्चिएको र हेलिकोप्टर कम्पनी भारतमा कालोसूचीमा परेको छ। भारतले ४० मिलियन यूएस डलरमा दश थान खरिद गरेको थियो। तीनवटा इन्जिन भएको यो हेलिकोप्टरको उडान, मर्मतसंभार सेतो हात्ती सरह रहेको छ। मर्मत–संभार, संचाल इन्धनमा अधिक खर्च गर्नुपर्ने भएकाले नेपालका लागि यो अगस्ता हेलिकोप्टर पनि विगतको लाउडा जहाज र हालको चिनियाँ जहाज एमए–६०९ भन्दा पनि काम नलाग्ने जहाज भएकाले यो ल्याउनु हुन्न भन्ने सेनाका हवाई प्राविधिकहरूको राय रहेको बुझिन्छ। रोहिणी थपलिया नेपाली एजेन्ट रहेको इटालियन हेलिकोप्टर खरिद योजनामा प्रधानसेनापति गौरबशमशेर राणा समेत विवादमा पर्ने चिन्ता सेनाका केही अधिकृतहरूले गर्न थालेका छन्।
अगष्टल्याण्ड हेलिकोप्टर मात्र होइन, नेपाली सेनाले नेपालको संक्रमणकालको मौका छोपेर लगभग २ अर्ब रुपैयाँको हातहतियार पनि बेल्जियमबाट खरिद गर्ने प्रस्ताव अघि बढाएको कुरा रक्षा मन्त्रालय स्रोतबाट थाहा भएको छ। यो हतियार सप्लाईका लागि नेपाली एजेन्ट प्रदीपशमशेर राणा निकै सक्रियतापूर्वक लागिरहेको कुरा सैनिक स्रोतबाट थाहा भएको छ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page