काठमाडौं, २१ कात्तिक । पूर्वराजा ज्ञानेन्द्र शाह साताव्यापी भ्रमणका लागि भारत जाने भएका छन् । ज्ञानेन्द्र आज (शुक्रबार) भारत भ्रमणमा जान लागेका हुन् । उनी भारत किन जान लागेका हुन् भन्नेबारे निर्मल निवासले केही जनाएको छैन ।
शाहका साथमा उनका निजीसचिव सागर तिमल्सिना, संवादसचिव डा. फणीराज पाठक, निजी अंगरक्षक सशस्त्र प्रहरीका डिएसपी उद्धव रावल र शाही अर्दली हरिशरण थापा रहने बताइएको छ । शाहको टोली इन्डियन एअरलाइन्सको विमानबाट दिल्ली जाने कार्यक्रम तय भएको छ । व्यक्तिगत भ्रमण भनिए पनि पूर्वराजाले साथमा पूर्वरानी कोमललाई नलिई एक्लै भारत जाने भएका छन् । भ्रमणको कार्यसूची पनि गोप्य राखिएको छ ।
झन्डै दुई महिनाअघि हृदयाघात भएर अस्पताल भर्ना भएका शाह निर्मलनिवासमै आराम गरिरहेका थिए । सार्क सम्मेलनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनुअगावै भारत जानुलाई अर्थपूर्ण मानिएको छ । उनले भारतीय राजनीतिज्ञहरुलाई पनि भेट्ने अनुमान छ ।