फेस्टिबलको निम्ति ३५ देखी ४० लाख रुपैंया खर्च लाग्ने र करिब सवा एक करोडको कारोबार हुने लक्ष्य लिइएको आयोजक रेवान सौराहाको अनुमान रहेको छ । फुड फेस्टिबलमा आन्तरिक पर्यटक बढाउनका लागि छिमेकी जिल्लाहरुमा पत्रकार भेटघाट कार्यक्रमको अभियान चलाइएको रेवान सौराहाका अध्यक्ष सिताराम कुमालको भनाई छ । ‘चितवनको मात्र कार्यक्रम नभई यो हामी सबैको कार्यक्रम हो’ अध्यक्ष कुमालले भने–यसलाई सफल बनाउनका निम्ति सबैको साथ र सहयोग आवश्यक रहने भएकाले हामीले विभिन्न स्थानमा पत्रकार सम्मेलनको आयोजना गर्दै हिंडेका हौं।’ फुडफेस्टिबलमा मःम खाने प्रतियोगिता, जुस पिउने प्रतियोगिता, घैटो फुटाई प्रतियोगिता एवम् प्रेमपत्र लेखन प्रतियोगिता लगायतका कार्यक्रम गर्ने तय भैसकेको नवौं सौराहा फुड फेस्टिबल संयोजक शीरलाल परियारको भनाई छ । उनले स्थानीय थारु, दराई कुमाललगायतका जातिको मौलिक खानाको प्रदर्शन रहने बताए ।
भ्यालेन्टाईन डेको अवसर पारेर प्रेमी जोडीलाई विशेष महत्वका साथ आयोजना गरिएको यस फेस्टिबलमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहने फुड फेस्टिबल आयोजकले जानकारी दियो । कार्यक्रमबाट संकलन भएको पांच प्रतिशत रकम चितवनामा बालश्रम न्यूनिकरणको निम्ति सहयोग गर्ने बताएको छ ।
पत्रकार सम्मेलनमा प्रचार समितिका संयोजक राजकुमार श्रेष्ठ, आर्थिक समिति संयोजक नरेश गिरी, पूर्व संयोजक राजन भट्ट, रेवान सचिव नविन नेपाललगायतको उपस्थिती रहेको थियो । आयोजकले यसअघि नवलपरासी, बुटवल, पोखरा र काठमाण्डौंमा पत्रकार सम्मेलनको आयोजना गरी फुड फेस्टिबलको बिषयमा जानकारी दिएको बताएको छ । भ्यालेन्टाईन डेको अवसर पारेर आयोजना गरिएको यस कार्यक्रम १ गतेदेखि ४ गतेसम्म सौराहामा हुने छ ।
मध्य नेपाल बिशेष, मा प्रकासित भएको