दोहा । नेफ्टा अवार्ड वितरणका लागि कतारको दोहा आएका संचारमन्त्री डा.मिनेन्द्र रिजालले भारतले नाकाबन्दी नगरेको बताएका छन् ।
‘भारत भन्ने वित्तिकै हामी भावनामा डुब्ने गर्छौ । भारतकोबारेमा गुनासो हुनु स्वभाविक हो । त्यो भावनालाई बुद्धिमतापूर्वक उपयोग गर्न सकिरहेका छैनौ । भारतको बारेमा झोक मात्रै चलाएर, गाली मात्रै गरेर हाम्रो गुजारा चल्दैन,’ मन्त्री रिजालले भने, ‘अपेक्षा र गुनासो हुनु स्वभाविक हो यसलाई द्विपक्षीय सम्बन्ध सुधार गर्दै समाधानमा लैजानुपर्छ ।’
आधिकारिक रुपमा भारतले नाकाबन्दी नगरेकोले नाकाबन्दी भन्न नमिल्ने उनको भनाइ थियो । नेपालीहरु हल्लाको पडाडि लाग्ने गरेको उनको आरोप थियो । भारतले भने केही दिनदेखि अघोषित रुपमा नाकाबन्दी गरेपछि अतिप्रज्वलनशील पदार्थसमेत रोकेको छ । मोदीले नेपालसँग नयाँ सम्बन्ध विस्तार गर्न खोजेको भए पनि यो अवसर आफ्नो पक्षमा उपयोग गर्न नसकेको उनको थियो ।
‘संबिधान बनाउन काँग्रेस र एमालेको बहुमत हुँदाहुँदै उहाँहरुसँग सहमतीका लागि १६ बुदे सम्झौता गरियो । तर अन्तिम अवस्थामा उहाँहरु भाग्नु भयो । मुलधार भन्दा बाहिरका पार्टीहरुका कारण अहिले यो अवस्थाको सृजना आएको हो । नेताहरुले बुद्धिमता देखाउनुपर्छ । नारा जुलुसले समस्याको समाधान हुदैन,’ उनले भने, ‘नब्बे प्रतिशतको सहमतिमा संबिधान बनेको छ । हामी बाँकी रहेका दश प्रतिशतलाई पनि मिलाएर लान्छौ तर उहाँहरु समर्थन अनुसारको स्थानमा बस्नुपर्यो ।’
नेपाललाई स्वाधिन राख्नुपर्ने भन्दै नेताहरुले बुद्धिमता अपनाउनु पर्ने बेला आएको बताए । उनले राजनीति समाधानका लागि अन्तिम विकल्प सम्झौता र सहमति भएको बताए । तल्लोस्तरमा काम गर्ने नेपालीहरुको धेरै गुनासो भएको भन्दै गुनासो र सद्भावलाई एक ठाउँमा पुर्याउन नसकेको महशुस गरेको उनले बताए । यहाँको सद्भावलाई सदुपयोग गर्ने सोच कहिल्यै पनि दिमागबाट बाहिर जान नहुने उनले बताए ।
उनले विदेश काम गर्न जानु दुःखको कुरा हो तर हामी नबुझी हिड्दा समस्यामा पर्ने बताए । रेमिट्यान्सबाट अर्थतन्त्रको सृजना भएको उनले बताए ।
मोरङ्ग सुनसरी सेवा समाज कतारले सञ्चारमन्त्री डा. रिजाललाई सम्मान गरेको छ । नेफ्टा फिल्म् अवार्ड कार्यक्रमका लागि कतार आएका मन्त्री रिजाललाई दोहाको होराईजन म्यानर होटलमा एक कार्यक्रमबीच सम्मान गरिएको हो ।
विश्वकै कान्छा निर्देशक पनि सम्मानित
यस्तै, विश्वकै कान्छा निर्देशकका रुपमा गिनिज बुकमा नाम लेखाएका सौगात विष्टलाई मोसु कतारले सम्मान गरेको छ । उनले आठ बर्षको उमेरमा ‘लभ यू बाबा ‘नामक चलचित्र निर्देशन गरी गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा आफ्नो नाम दर्ज गराएका थिए ।
पाँच बर्षको उमेरमा ‘जन्मभूमी’ नामक चलचित्रमा अभिनय गरेका उनी नेफ्टा अवार्डका लागि कतार आएका हुन् । कार्यक्रममा सोही फिल्मको मुख्य भूमिकामा रहेका उनका पिता नायक गजित विष्ट र दिदी साथै निर्माता सम्झना पोख्रेललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाली दुतावासका द्वितीय सचिव हरी अर्यालका साथै संस्थाका पदाधिकारी तथा सल्लाहकारहरुको उपस्थिति थियो ।