इस्लामाबाद, १० मंसीर (एजेन्सी)। बहुराष्ट्रिय नेटो सेनाले गएराति पाकिस्तानमा गरेको आक्रमणमा कम्तिमा २५ पाकिस्तानी सैनिकको मृत्यु भएको छ । अफगानिस्तान नजिकै रहेको सैनिकको बोर्डर चेकजाँच पोस्टमा नेटोले हेलिकप्टरबाट गरेको आक्रमणको पूर्ण क्षतिको विवरण भने आइसकेको छैन ।
नेटो गठबन्धनले हमलाको जिम्मेवारी लिँदै यसबारे अनुसन्धान गर्ने बताएको छ भने पाकिस्तानी अधिकारीहरुले हमलाको चर्को विरोध गरेका छन् । आक्रमणको घोर भत्र्सना गर्दै पाकिस्तानी सैनिक प्रवक्ताले घटनामा भएको क्षतिको विवरण आउने क्रम जारी रहेको बताएका छन् ।
यो घटनापछि पाकिस्तान र अमेरिकाको सम्बन्ध झनै संकटमा परेको छ । केही महिनाअघि पाकिस्तानको एबोटावादमा अमेरिकी कारबाहीमा ओसामा बिन लादेनको मृत्युपछि चिसिएको सम्बन्ध सुधार नहुँदै भएको यो आक्रमणपछि अमेरिका र पाकिस्तानको सम्बन्धमा तिक्तता आउने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
यता, आक्रमणको विरोधमा पाकिस्तानले नेटो सैनिकको बन्दोबस्तीका सामान दुवानीमा बन्देज लगाएको छ । अफगानिस्तानमा कार्यरत नेटो सैनिकलाई आवश्यक पर्ने बन्दोबस्तीका सामान तथा तेल लिएर पाकिस्तानको बाटो हुँदै अफगानिस्तानतर्फ लागेको ट्रक तथा ट्याङ्करहरुलाई पाकिस्तानले बोर्डरमा रोकिदिएको छ ।
अमेरिकाले पाकिस्तान र अफगानिस्तानको तालिवान प्रभावित आदिवासी इलाका क्षेत्रमा मानवरहित ड्रोन विमानबाट बारम्बार आक्रमण गर्दै आएको छ । यस्ता आक्रमणमा आतंकवादीभन्दा सर्वसाधरणतर्फ क्षति बढेपछि पाकिस्तानले अमेरिकासमक्ष आक्रमण रोक्न आग्रह गर्दै आएको छ ।