चितवनका चर्चित चार डाक्टर अख्तियारको फन्दामा

भरतपुर । विरामीको पहिलो रोजाइका चितवनका चार जना डाक्टरहरु अख्तियार र सर्तकता केन्द्रको अनुसन्धान घेरामा परेका छन् । विरामीको पहिलो रोजाइका साथै उनीहरु अख्तियार र सर्तकता केन्द्रको पनि अनुसन्धानको पहिलो रोजाइमै परेका छन् ।

अकुत सम्पत्ति आर्जनमा थालेको छानबिन प्रक्रियामा अख्तियारले चितवनका डाक्टरहरु भक्तमान श्रेष्ठ, जागेश्वर गौतम, मनोहरलाल प्रधानलाई अनुसन्धान घेरामा तानेको छ । यसअघि भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट र हाल गोरखा अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट रहेका डा. केशवराज भूर्तेलमाथि भने राष्ट्रिय सर्तकता केन्द्रले छानबिन गरिरहेको छ । उल्लेखित चार डाक्टरहरु चिकित्सा क्षेत्रमा आ–आफ्नो विधाका चर्चित हुन् । 

डा. भक्तमान वरिष्ठ सर्जन, डा. मनोहरलाल प्रधान एनेस्थेसीयालोजिष्ट, डा. केशवराज र डा. जागेश्वर बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ हुन् । अपत्यारिलो सम्पत्ति विवरण र अस्वभाविक जीवनस्तर भएकालाई अख्तियारले छानबिन गर्दै आएको छ । 

डा. भक्तमान श्रेष्ठ यसअघि क्यान्सर अस्पतालकै कार्यकारी निर्देशक भइ काम गरिसकेका छन् । श्रेष्ठ हाल अस्पतालका संचालक समिति अध्यक्ष हुन् । डा. प्रधानबाहेक अन्य डाक्टरहरुको भरतपुरस्थित विभिन्न निजी अस्पतालहरुमा आर्थिक लगानी र कार्य संलग्नता रहेको छ । 

त्यस्तै मनोहरलाल प्रधान मेडिकल कलेज भरतपुरमा काम गर्छन् । डा. प्रधान मेडिकल काउन्सिलको सदस्यसमेत हुन् । डाक्टरहरु केशवराज र जागेश्वरको गोरखा अस्पतालमा सरुवा भए पनि चितवनकै निजी अस्पतालहरुमा काम गरिरहेका छन् । दुबै डाक्टरको मौलाकालिका अस्पतालमा लगानी र सहभागिता रहेको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० मा कुनै राष्ट्रसेवकले पेश गरेको सम्पत्ति विवरण अमिल्दो वा जीवनस्तर अस्वभाविक देखिएमा अख्तियारले छानबिनको दायरामा ल्याउने कानूनी व्यवस्था छ । 

अख्तियारले यसअघि ९६ जनालाई पहिलो निशाना बनाएकोमा डा. मनोहरलाल प्रधान परेका थिए । डा. जागेश्वर यसअघि नै अख्तियारको अनुसन्धान घेरामा परेका हुन भने डा. भक्तमान अख्तियारले दोस्रो पटक निकालेको २४ जनाको सूचिमा परेका हुन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक पद धारण गरेका १ सय बढीको अनुसन्धान थालिसकेको छ । जसअन्तर्गत चितवनका उल्लेखित डाक्टरहरु पनि अख्तियारको अनुसन्धान घेरामा परेका हुन् । उनीहरुमाथि लागेको अकुत सम्पत्ति आर्जनको अभियोग ठहर हुने नहुने भन्ने चाहि“ अनुसन्धान सम्पन्न भएपछि मात्र थाहा हुनेछ । 
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page