नेकपा एमालेको नवौं महाधिवेशनमा खानाका लागि मात्रै १ करोड २५ भन्दा बढी रुपैयाँ लाग्ने भएको छ।
महाधिवेशन प्रतिनिधि १९ सय, स्वयमसेवक २ सय, सुरक्षाकर्मीलगायत अन्य गरी दैनिक २५ सय जनालाई खुवाउन १ करोड २५ लाख रुपैयाँभन्दा बढी लाग्ने एमालेले जनाएको छ।
खानपिनको व्यवस्था जिम्मा एमालेले कल्पु क्याटरिङ सर्भिसलाई ठेक्कामा दिने भएको छ। महाधिवेशनस्थलमै खाना पकाउने तारतम्य एमालेले मिलाएको छ।
एमालेले दिनमा चारपटक खानपिनको व्यवस्था गर्ने भएको छ। खाद्य व्यवस्थापन समितिका सदस्य बद्री कोइरालाका अनुसार बिहान ७ बजेदेखि ८ बजेसम्म नास्ताको समय रहने छ।
दिउँसो खाना खाने समय केही ढिला हुने भएकाले बिहानका नास्ता ‘हेभी’ हुने उनले बताए। दिउँसो १ बजेदेखि २ बजेसम्म खाना, ४ बजेदेखि ५ बजेसम्म चियानास्ता र राति ८ बजेदेखि ९ बजेसम्म खानाको व्यवस्था मिलाइएको कोइरालाले जानकारी दिए।
४५ मिनेट देखि १ घण्टाभित्र खाना खाइसक्न महाधिवेशनस्थल भकृटीमण्डपमा १५ वटा ‘टु वे खानाको स्टल’ रहने उनले जानकारी दिए।
मुस्लिम, अपाङ्ग, बिरामी, ज्येष्ठ नागरिक र मासु नखानेहरुका लागि छुट्टै स्टल रहने उनले बताए। खानामा दैनिक खसी, कुखुराको मासु र माछा रहने पनि उनले जानकारी दिए।
खानेकुरा किनमेल गर्दा, पकाउँदा र पकाइसकेपछि निरीक्षण गर्ने उनले बताए। खानेकुरा स्वास्थ्यबर्द्धक, स्तरीय हुने पनि उनले बताए।
विगतको अनुभव, क्षमता र जनशक्ति हेरेर यसपटक खानपिनको व्यवस्था गर्न लागेको कोइरालाले जानकारी दिए।
खानाको गुणस्तरबारे चेकजाँच गर्न एक समिति बनाइने उनले जानकारी दिए।
१ करोड २५ लाख रुपैयाँले खाना पुग्ला भन्ने प्रश्नमा कोइरालाले भने, ‘बिहान जति सहभागी हुन्छन्, साँझ त्यति हुँदैनन्, स्थानीय प्रतिनिधि घर जाने र बाहिरी जिल्लाबाट आएका प्रतिनिधिहरु बाहिर होटलतिर छलफल गर्ने जाने भएकाले उनीहरुको संख्या घट्छ। त्यसैले हामीले चौतर्फी सोचविचार गरेर खानामा १ करोड २५ लाख रुपैयाँ लाग्ने अनुमान गरेका छौं।’
खानामा धेरै खर्च लाग्ने भएपछि एमालेले व्यापारीहरुसँग केही रकम चन्दा असुल गरेको छ। चन्दा असुल गर्न उसले मजदुर संगठन, विद्यार्थी संगठन लगायतका भ्रातृसंगठनलाई अह्राएको थियो। नेकपा एमालेको
महाधिवेशन यही असार १९ गतेदेखि काठमाडौंमा हुँदैछ।