काठमाडौ, असार १२ – विश्वकप फुटवल अन्तर्गत समुह एफबाट अर्जेन्टिनासंगै नाइजेरिया अन्तिम १६ मा पुगेको छ । बुधबार राती अर्जेन्टिनासंग ३–२ ले पराजित भएपनि नाइजेरिया समूह उपविजेता बन्दै अघिल्लो चरणमा पुगेको हो ।
यसै समूहमा बुधबार राती एशियाली देश इरान बोस्निया हर्ज गोभिनासंग पराजित भएपछि अफ्रिकी च्याम्पियन नाइजेरिया अघिल्लो चरण पुगेको हो । एक खेल बराबरी र एक खेलमा जित सहित नाइजेरिया ४ अंक जोडेर समूह उपविजेता बनेको हो ।
अर्जेन्टिना भने चालु विश्वकपमा समूह चरणका तीनवटै खेल जित्दै समूह विजेता बनेर प्रि क्वार्टर फाइनलमा पुगेको छ । अर्जेन्टिनालाई अपराजित राख्न कप्तान लियोनेल मेस्सीले २ तथा रोजोले एक गोल गरे । नाइजेरियाका लागि दुवै गोल अहमद मुसाले गरे । खेलको तेश्रो मिनेटमै मेस्सीले गोल गदै अर्जेण्टिनालाई अग्रता दिलाएपनि एक मिनेट नबित्दै नाइजेरियाले मुसाको गोलमा बराबरी गर्यो । पहिलो हाफको अन्तिम समयमा मेस्सीले गोल थप्दै टीमलाई २–१को अवस्थामा पुर्याए तर दोश्रो हाफको दोश्रो मिनेटमै फेरि अहमदले गोल थप्दै खेल बराबरीमा पुरयाए । प्रतिस्पर्धात्मक खेलको ५० औ मिनेटमा रोजोले निर्णायक गोल गर्दै टीमको जित निश्चित गराए । यो खेलमा २ गोल गरेपछि जारी प्रतियोगितामा मेस्सीको ब्यक्तिगत गोल संख्या ४ पुगेको छ । ब्राजिलका नेयममारले पनि प्रतियोगितामा ४ गोल गरेका छन् ।