रथी पाण्डेले लिए अवकाश

काठमाडौं, १९ माघ
नेपाली सेनाका रथी पवनबहादुर पाण्डेले आइतबार पदभार बुझाएर अवकाश लिएका छन् । पाण्डेको समयावधि औपचारिक रूपमा सोमबार सकिँदै छ । उनको अवकाशसँगै सेनाका उपरथी राजेन्द्र क्षेत्रीलाई रथी हुँदै आगामी भदौदेखि प्रधानसेनापति बन्ने बाटो खुलेको छ ।
प्रधानसेनापतिले अवकाश पाउनुभन्दा एक महिनाअघि र अन्य अधिकृतले १५ दिनअघि नै घरबिदामा बस्नुपर्ने नियम छ । नियमानुसार पाण्डेले ५ माघमै पदभार बुझाएर घरबिदा बस्नुपर्ने थियो । तर, प्रधानसेनापति राणाकै रुचिअनुसार पाण्डे बिदा बसेनन् । रथी पाण्डेका दाजु स्व. सहायकरथी सागरबहादुर पाण्डे र प्रधानसेनापति गौरवशमशेर राणा सम्धी हुन् ।
यसअघि ११ माघमा अवकाश पाएका उपरथी भिक्टर राणा पनि अवकाशको पाँच दिनअघि मात्रै घरबिदा बसेका थिए । पाण्डेले आइतबार आफ्नो पदभार बलाध्यक्षरथी प्रदीपविक्रम राणालाई बुझाएको सैनिक स्रोतले जनाएको छ । पाण्डेले रथीको उमेरहद बढाउनुपर्ने पक्षमा प्रधानमन्त्रीदेखि राष्ट्रपतिसमेतलाई भेटेर आग्रह गरे पनि सैनिक ऐन संशोधन गर्नुपर्ने जोखिम लिन उनीहरू तयार भएनन् । हाल रथीको उमेरहद ५८ वर्ष छ ।
पाण्डेको अवकाशपछि बरियता क्रममा उपरथी राजेन्द्र क्षेत्री रथीमा बढुवा हुनेछन् । प्रधानसेनापति राणाले एक साताभित्रै उनको बढुवाका लागि रक्षा मन्त्रालयमा फाइल पेस गर्ने तयारी गरेका छन् । प्रधानसेनापति राणा आगामी २२ भदौमा अवकाश पाउँदै छन् । त्यसअघि नै आगामी जेठ २५ गते बलाध्यक्ष रथी प्रदीपविक्रम राणाले पनि अवकाश पाउँदै छन् । त्यसपछि वरिष्ठताका आधारमा क्षेत्री प्रधानसेनापति हुनेछन् ।
सेनामा अब प्रधानसेनापतिपछि बरियतामा बलाध्यक्ष रथी राणा र क्षेत्री छन् । प्रधानसेनापति राणाले अवकाश पाउने वेलासम्म क्षेत्रीभन्दा वरिष्ठ सबैले अवकाश पाइसक्नेछन् । प्रधानसेनापति राणाले अवकाश पाएपछि क्षेत्रीले सैनिक नेतृत्व सम्हाल्नेछन् । क्षेत्री ०७५ भदौसम्म प्रधानसेनापति रहनेछन् ।
क्षेत्रीका दाजु उपरथी रमिन्द्र क्षेत्री सेनाको राष्ट्रिय सेवा दलका प्रमुख छन् भने भाइ रतिन्द्र क्षेत्रीले महासेनानीबाट अवकाश पाइसकेका छन् । क्षेत्रीको परिवार पाँच पुस्ताभन्दा अघिदेखि नेपाली सेनामा कार्यरत छ ।
यसैगरी, बहालवाला उपरथीहरूमा पदमविलास कार्की आगामी वैशाखमा र सुरेन्द्र कार्कीले आगामी साउनमा अवकाश पाएपछि वरिष्ठतम उपरथी विनोज बस्न्यातका लागि आगामी प्रधानसेनापति बन्ने बाटो खुल्नेछ । क्षेत्रीले अवकाश पाएपछि बस्न्यातले ०७५ भदौ २२ देखि सैनिक नेतृत्व सम्हाल्नेछन् । तर, विद्यमान सैनिक ऐनमा उमेर तथा पदावधि संशोधन भए भावी सेनापतिको लाइन फेरबदल हुनसक्ने सैनिक अधिकारीहरू बताउँछन् ।
सैनिक स्रोतका अनुसार प्रधानसेनापति राणाले रथी पाण्डे र सेनाको विकास निर्माण तथा स्थपति महानिर्देशनालयबाट १५ पुसमा म्याद सकिएका उपरथी नरेश बस्नेतलाई आगामी सेनापतिको लाइनमा पारिदिने फरक–फरक आश्वासन दिएका थिए । दुई वर्षअघि नै अवकाश पाएर करार थपिएका अवकाशप्राप्त उपरथी बस्नेतलाई तीनतारे बनाउन प्रधानसेनापति राणाले पठाएको प्रस्ताव रक्षा मन्त्रालयले अस्वीकृत गरेको थियो । बस्नेतको करार पुस १५ गते सकिएको छ । तर, प्रधानसेनापति राणाले अवकाश पाएकै मितिदेखि बस्नेतलाई सैनिक कल्याणकारी बोर्डको प्राविधिक सल्लाहकार नियुक्त गरेका छन् ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page