काठमाडौं/ एकीकृत माओवादी अध्यक्ष प्रचण्डले पाँचदेखि दश अर्ब दिए आन्दोलन रोकिन्छ भन्ने एमाले अध्यक्ष ओलीको टिप्पणी जवाफ दिनलायक नरहेको प्रतिक्रिया दिएका छन् । शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले पैसा दिए माओवादी आन्दोलन रोकिने आरोप लगाएका थिए ।
‘यस्ता वाहियात कुराको जवाफ दिन पनि लाज लाग्छ । देशमा यस्ता नेता पनि छन् । तिनीहरूले आफू नै देशको ठेकेदार हुँजस्तो गरेका छन्,’ प्रचण्डले भने, ‘त्यस्ता नेताको भनाइको जवाफ दिन आवश्यक छैन । जवाफ दिनु आफैँ तल खस्नुजस्तो हो ।’
२२ असोजमा प्रमुख दलहरूबीच भएको पाँचबुँदे सहमतिमा युद्धकालमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ दिने उल्लेख छ । तर, सो सहमतिअनुसार सरकारले सहिद परिवारलाई पैसा नदिएको एमाओवादीको भनाइ छ । दुई किस्तामा दिने भनेको रकम अहिलेसम्म एक किस्ता पनि नदिइएको माओवादीले जनाएको छ । त्यसैलाई आधार मानेर ओलीले पाँचदेखि दश अर्ब दिए आन्दोलन रोकिने टिप्पणी गरेका थिए ।