नेपाली जनताको अरबौँ रूपैयाँबराबरको धन विनास गरेर झन्डै ९ वर्षको समय बर्बाद गरेपछि बल्लतल्ल राजनीतिक दलहरुले नयाँ संविधान जारी गरे । तर चानचुने विवादका बीच होइन, निकै चर्को विवादका बीच जारी भएको यो संविधान कार्यान्वयनका लागि अघि बढाउन नपाउँदै यसले नेपालमा हाहाकारै मच्चायो । हाहाकार मच्चिनुमा कुनै नौलो कारण होइन, पुरानै कारण हो । त्यो पुरानो कारण भनेको छिमेकी मुलुक भारतलाई हाम्रो संविधान चित्त बुझेन, त्यसैले छिमेकी मुलुकले नाकाबन्दी घोषित रुपमा नगरे पनि सिमानामा असोज ५ गते कडाइ गर्नेबित्तिकै केही समयका लागि नेपालमा पेट्रोलियम पदार्थ रोकियो र पेट्रोल पम्पहरुमा हजारौँ कार र मोटरसाइकलहरुको लाइन देखियो । यही अवस्थालाई संकेत गर्दै नेपालका एक जना प्रचण्डका नामले ज्यादा र पुष्पकमल दाहालका नामले कम चिनिने नेताले “हामी कसैका अगाडि झुक्दैनौँ” भन्दै आवश्यक परे साइकल चढ्ने उद्घोषसमेत गरे । प्रचण्डले जिन्दगीमा यसपटक प्रमाणसहित नेपालको हितमा बोले । राष्ट्रियताको पक्षमा बोले, यद्यपि यो बोलीले नेपालको अति घनिष्ट मित्र देश भारतलाई अलिकति चिढ्याएको पनि हुन सक्छ । किनभने, अघिल्ला दिनहरुमा नेपाली नेताहरु भारतले दिसा गर भने गरिदिन्थे, होइन–होइन पिसाब फेर भन्दा तुरूक्क पिसाबै फेरिदिन्थे । अर्थात्, पहिले–पहिले यिनीहरु उतैतिरको दानापानी र रोटी खाएर आफ्नो राजनीतिक दुनो सोझ्याउँथे । त्यसरी नेपाली नेताहरुले भारतलाई “तिमी हाम्रो दाता, हामी तिम्रो आदेश पालक” भन्नेजस्तो सम्मान दिने गर्थे । यसपटक यिनीहरुले त्यो व्यवहारलाई उल्ट्याए । त्यसैका कारण “ठूल्दाइ” अर्थात् भारत अकस्मात् नेपाली नेताहरुसँग रिसायो । नेपाल र भारतबीच एक वा दुई शीर्षकमा मात्रै सम्बन्ध होइन, थुप्रै शीर्षकमा सम्बन्ध छन् । एकता र मेलमिलाप, सहकार्यका इतिहास पनि छन्, साथमा केही शीर्षकमा बेमेल र खटपटी पनि नभएका होइनन् । यसरी नै नेपाल र भारत सँगसँगै दिन र रात गुजारिरहेका छन् । दुई मुलुकबीचका बहुआयामिक विषयहरुमा फेरि–फेरि पनि छलफल र बहसहरु गरिने छ, तर यसपटक भने नेपालको करङ फुत्काउन भूमिका निर्वाह गरिरहेको पेट्रोलबारे चर्चा गर्ने प्रयास चितवन पोष्टमार्फत गरिएको छ । हिसाब गर्नेहरुले पत्याउलान्, हिसाब नगर्नेहरुले पत्याउने छैनन् । सत्य कुरा यही हो कि अब धेरै कारणहरुमध्ये एउटा पेट्रोल नेपाल सिध्याउन कारण बन्ने निश्चित छ । नेपालमा पेट्रोलियम पदार्थको प्रयोग दिन दुई गुणा रात चार गुणाका दरले बढिरहेको छ र स्वदेशी धन र रेमिट्यान्सका रुपमा प्राप्त नगद विदेश जाँदै छ । नेपाल उसै त मागेर खाने बानी परेको देश, त्यसमाथि ठूलो धनराशि पेट्रोलियम पदार्थ खरिदमा खेर गइरहेको छ । यस्तो अवस्था रहिरहे कसरी मुलुक अगाडि बढ्न सक्छ ? निरन्तरको आम्दानी नभएका व्यक्ति वा राष्ट्रले कम खर्च गर्ने हो, बचत गर्न सिक्ने हो तर दुर्भाग्य ! मागेर खाने र खुवाउने बानी परेको नेपालको राज्यसत्ताले कहिल्यै पनि यसतर्फ ध्यान दिएन । राज्यले जनसंख्या गणना गर्दछ । जनसंख्याको यकिन गरिसकेपछि सवारीको साधन जनसंख्याको अनुपातमा कति चाहिन्छ, हिसाब गर्दछ । सवारीसाधन गुड्ने बाटो र राजमार्गको ठीक हिसाब निकाल्छ । यसरी परिपक्व जानकारी हासिल गरिसकेपछि सरकारी यातायात साधन कति चाहिन्छ, निजी प्रयोगको लागि कति सवारीसाधन खरिदका लागि अनुमति दिन ठीक हुन्छ, त्यसको हिसाब निकाल्छ । तर, नेपालको शासनसत्ता चलाउने मूर्खहरुले कहिल्यै यस प्रकारको हिसाब गरेनन् । त्यसको परिणाम आज मुलुक बेढंगले गन्तव्यविहीन अवस्थामा चलिरहेको छ । एकातर्फ पेट्रोलियम पदार्थको मूल्य बढेको बढ्यै छ भने अर्कोतर्फ नियमित आपूर्ति छैन, भलै कुनै बेला दुई–पाँच रूपैयाँ घटेको छ । कमजोर आर्थिक अवस्थाका नेपाली जनताले पेट्रोलियम पदार्थ खरिद गर्न नसक्ने भन्दै आन्दोलन गरिरहेका छन् । अर्कोतर्फ काठमाडौँका सडकमा सवारीसाधनको चाप बढेर दिनैभरि बाटो जाम भएको छ । अन्य स्थानको अवस्था पनि यसभन्दा फरक छैन । सवारीसाधन प्रयोग गर्नुभन्दा पैदल हिँडेर गन्तव्यमा चाँडो पुग्न सक्ने स्थिति देखियो । यो समस्या नयाँ होइन । यो समस्या पञ्चायती शासनकालमा थियो । कांग्रेस र एमालेको जमानामा थियो । माओवादी जमाना पनि एकपटक आयो । अहिले सुशील कोइरालाको पालामा पनि जस्ताको त्यस्तै छ । जमाना जसको आए पनि अब प्रश्न खडा भएको छ– दीर्घरोगका रुपमा रहेको पेट्रोलियम पदार्थसँग सम्बन्धित समस्या समाधान गर्ने कि नगर्ने ? पेट्रोलियम पदार्थ प्रयोग नगर्ने वा कम प्रयोग गर्ने नीति लागू गर्ने कि नगर्ने ? मुलुकमा नयाँ खालको आर्थिक क्रान्ति गर्ने कि नगर्ने ? निश्चित रुपमा अब पेट्रोलियम पदार्थको सकेसम्म प्रयोगै नगर्ने, सकिँदैन भने अत्यन्तै न्यून प्रयोग गर्ने नीति अपनाउन जरूरी भैसकेको छ । सबैभन्दा पहिले अनावश्यक रुपमा सवारीसाधन विदेशबाट नेपालमा भित्र्याउन नदिने नीति लागू गरिनुपर्दछ । आवश्यकताभन्दा बढी सवारीसाधन आयातमा रोक लगाउने हो भने यसबाट आंशिक रुपमा पेट्रोलियम पदार्थको प्रयोगमा कमी आउने छ । दोस्रो उपायका रुपमा सरकारले पेट्रोलियम पदार्थ कम प्रयोग गर्न सार्वजनिक रुपमा जनतालाई आह्वान् गर्न सक्छ । मुलुकभित्रको माटो र नांगो शरीरबाहेक अरु केही नभएका हामी नेपालीले अब परनिर्भरतामा बाँच्न नहुने सन्देश सरकारले जनताको घरदैलोमा पु¥याउन अब ढिला गर्न नहुने भएको छ । हिजो जनता सोझा थिए, निमुखा थिए । आज जमाना बदलिएको छ, जनता बाठा भैसकेका छन् । अबका जनताले शासक वर्गलाई प्रश्न सोध्नेछन्– नेपाली युवावर्गले विदेशमा रगत र पसिना बगाएर कमाएको धन नेपालमा किन अडिएन ? सबै धन किन विदेशियो ? कुल मिलाएर हाम्रो राष्ट्रिय धन किन सधैँभरि विदेशिन्छ ? धेरै कारणहरुमध्ये प्रमुख कारण हो, विदेशबाट अनावश्यक रुपमा ल्याइएका विभिन्न नामका सवारीसाधन र ती साधनलाई गुडाउन निरन्तर आयात गरिँदै आएको पेट्रोलियम पदार्थ । छिमेकी मुलुक भारतले ट्रक, बस, कार र विभिन्न डिजाइनका मोटरसाइकलहरु निरन्तर उत्पादन गरिरहेको छ । खपत र प्रयोगबिना उत्पादन गर्नुको कुनै अर्थ छैन । भारतले नेपाललाई आफ्नो उत्पादन बिक्री गर्ने प्रमुख बजार बनाएको छ । भारतमा उत्पादित सवारीसाधनहरु अमेरिका, बेलायत वा युरोपियन मुलुकमा निर्यात हुँदैनन् । जनवादी गणतन्त्र चीनले भारतको सवारीसाधन खरिद गर्दैन । उसले आफ्नो देशलाई चाहिने यातायातका साधनहरु आफैँ उत्पादन गरेको छ । हामीबाहेक हाम्रो परम प्रिय छिमेकी मुलुक भारतको सिमाना जोडिएका उसका अन्य छिमेकी राष्ट्रसँग त्यति धेरै गुलियो सम्बन्ध छैन । अपवादलाई छाडेर भारत–भूमिमा उत्पादन गरिएका सवारीसाधनहरु पाकिस्तान, बंगलादेश, श्रीलंका र माल्दिप्समा निर्यात भएका छैनन् । भुटानको प्रसंग अलगै हो । उपलब्ध प्रमाणहरु बोलिरहेका छन्– नेपाल नै भारतीय उत्पादन प्रयोग गर्ने ठूलो बजार हो, यद्यपि उसका उत्पादनहरु भारतमै पनि ठूलो मात्रामा खपत हुने गरेको छ । भारतले सवारीसाधन लगातार उत्पादन गर्नु अब उसका लागि एक प्रकारको बाध्यता पनि हो । उत्पादन गरेर आफ्ना जनतालाई सस्तो मूल्यमा सवारीसाधन उपलब्ध गराउनु उसको कर्तव्य हो भने बाहिर निर्यात गरेर आफ्नो राष्ट्रलाई आर्थिक रुपले सम्पन्न बनाउनु उसको घोषित लक्ष्य पनि हो । अर्को एउटा डरलाग्दो बाध्यता पनि छ, भारतको । यदि उसले सवारीसाधन उत्पादन गर्ने कारखाना बन्द गर्न चाह्यो भने पनि बन्द गर्न सक्ने अवस्था छैन । कारखाना बन्द गर्दा लाखौँको संख्यामा भारतीय कामदारहरु बेरोजगार हुन पुग्दछन् र ती बेरोजगारहरुले पुनः रोजगारीका लागि आन्दोलन गर्नेछन् । आन्दोलन थेग्न भारतीय सत्तापक्षलाई हम्मेहम्मे पर्ने हुँदा यो स्थिति भारतीय शासक वर्गले आउन नदिन उनीहरु सचेत छन् र उत्पादनलाई निरन्तरता दिन हरेक तरिका अपनाउन उनीहरु तयार छन् । भारतीयहरुले नेपाली उपभोक्ताहरुलाई बैंक र फाइनान्समार्फत किस्ताबन्दीमा नयाँ–नयाँ मोडेलका मोटरसाइकल बिक्री गरिरहेका छन्, ताकि नेपाली उपभोक्ताहरुलाई सजिलोसँग मोटरसाइकल भिडाउन पाइयोस् र आफ्नो उत्पादनले निरन्तर बजार पाइरहोस् । कार चढ््न रहर गर्ने कोही नेपाली बहादुर छ भने पनि एक लाख रूपैयाँमा किस्तामा कार उपलब्ध गराउँदै आएको छ । अन्य गाडीहरुको पनि प्रक्रिया उस्तै गरिएको छ । फेरि भारतले नेपाललाई कहिलेकाहीँ गाडीहरु उपहार पनि दिने गरेको छ । केही वर्षअगाडि नेपालका प्रहरीले प्रयोग गरुन् भन्ने नाममा केही संख्यामा हलुका सवारीसाधन उपहार दिएको थियो । नेपाली नागरिकहरुले भारतीय गाडीहरु एकपटक खरिद गर्दछन्, तर त्यसलाई गुडाउन वर्षौंवर्षसम्म पेट्रोलियम पदार्थ खरिद गरिरहन्छन् । मुलुकबाट धन लगातार विदेशिन्छ । नेपालीहरुले भारतीय सवारीसाधन लगातार खरिद गरिरहने र भारतलाई आर्थिक रुपले बलियो बनाइरहने, खरिद गरिएका सवारीसाधन गुडाउन वर्षौंवर्ष लगातार पेट्रोलियम पदार्थ खरिद गरिरहने त्यसबाट खाडी मुलुकहरुलाई धनी बन्न मद्दत गरिरहने ! आखिर विद्यमान स्थिति यही होइन ? नांगो आँखाले पनि देखिएको छ– नेपाली जनताले हजारौँहजार वर्ष रगत र पसिना बगाएर मेहनत गरे पनि दीर्घरोगरुपी पेट्रोलियम पदार्थबाट मुक्ति वा भरपर्दो विकल्प नखोज्ने हो भने हामी नेपालीहरु जहिलेसुकै कंगालको कंगाल रहिरहने निश्चित छ । हामी नेपालीहरुले वास्तविक कुरा बुझेनौँ वा बुझेर पनि बुझ पचायौँ । जानीजानी हामीले प्राणदाता पानीभन्दा विलासिता जीवन बिताउन प्रयोग गरिने पेट्रोलियम पदार्थको मूल्य बढाइदियौँ । पानी पिउन नपाए मानिस बाँच्न सक्तैन, तर पेट्रोल नभए पनि मानिस मर्दैन । हामी पानीको धनी देश, हामी पानीको मह¤व बुझ्दैनौँ तर पेट्रोलको मह¤व बुझ्दछौँ । यसलाई दुर्भाग्यपूर्ण अवस्था नभने के भन्ने ? आफैँ बुझ्न सकेनौँ, ठिकै छ तर बुझेकाहरुबाट किन नसिक्ने ? नेदरल्यान्डमा झन्डै १७ करोड जनसंख्या छ । तर, अचम्मको विषय ! त्यस देशमा १३ करोड ५० लाख साइकल छ । नेदरल्यान्डका मानिसहरु पेट्रोल जोगाउन प्रायः सधैँ साइकल प्रयोग गर्छन् । वातावरण संरक्षणका लागि साइकल प्रयोग गर्छन् । स्वस्थ शरीरका लागि साइकल प्रयोग गर्दछन् । त्यसको ठीकविपरीत हामी नेपाली पुख्र्याैली जग्गा बेचेर मोटरसाइकल र कार खरिद गर्दछौँ । विदेशमा रगत अनि पसिना बेचेर आएको धनले पेट्रोल खरिद गर्दछौँ । हामी बचत गर्न जान्दैनौँ । हामी स्वास्थ्यको ख्याल राख्दैनौँ । हामी वातावरणप्रति कत्ति पनि सचेत छैनौँ । अब सीधै प्रश्न सोधौँ– हाम्रा शासक र नेता बाठा कि भारतीय नेता र शासक बाठा ? हामी नेपाली जनता बुद्धिमान कि नेदरल्यान्डका जनता बुद्धिमान ? जवाफ जसले दिए पनि भन्नैपर्छ— हामी नेपालीभन्दा नेदरल्यान्डका जनता बुद्धिमान र दूरदर्शी छन् । प्रत्येक पलपलमा पेट्रोलियम पदार्थले नेपाललाई ध्वस्त पारिरहेको छ, सिध्याइरहेको छ । यदि अझै पनि नेपालका नेता र शासक वर्ग मुलुकलाई पेट्रोलियम पदार्थको चपेटाबाट मुक्ति दिलाउनतर्फ सचेत हुँदैनन् भने भन्नैपर्छ– भारतीय नेता र शासक वर्ग बाठा छन्, बुद्धिमान छन्, दूरदर्शी छन् र हाम्रा नेता तथा शासक वर्ग सुस्त छन्, अदूरदर्शी छन्, बेढंगका छन् । यति भइकन पनि समय पूरै घर्किसकेको छैन, आफूलाई सुधार्ने मौका छ । नेपाल र भारत दुई छुट्टाछुट्टै देश हुन् । जनसंख्या धेरै र थोरै अनि भूमि कम र बेसी हुनु प्राकृतिक विषय हो । एक छिमेकीले अर्को छिमेकीको दुःखमा सहयोग गर्ने र सुखमा सहयात्री बन्ने हो । नेपालले आफ्नो कठिनाइ भारतसँग खुला रुपमा राख्नुपर्छ । थुप्रै समस्यामध्ये नेपालको एउटा समस्या पेट्रोलियम पदार्थ हो भन्ने कुरा भारतले बुझेकै छ । तर, त्योभन्दा पहिले आफ्नो समस्या आफैँ हल गर्ने प्रयत्नस्वरुप आउने दिनमा पेट्रोलियम पदार्थ कम प्रयोग गर्दै जानुपर्छ, होइन भने परनिर्भरता बढ्दै जाने छ । कालान्तरमा नेपालीहरु आजको भन्दा कयौँ गुणा ज्यादा समस्याको दलदलमा फस्ने अवस्था आउन सक्छ । चेतना भया ! ![First article's photo (1)](https://lh3.googleusercontent.com/blogger_img_proxy/AEn0k_s_J2Bw4VNZIulhnuuWcLV3cCWSziQ3sb3t5nDGLJbUlvBGGOhdGtDl0kVmPTbW18GQI5IN6EI5iHM5q6rWlqe07Him-Rx8HLT74eUmG9KYXCV0aEtucGOJrB1ljKH2BIyNp1nk_Wss4Q=s0-d)
Share this Page
Popular Posts
-
गैंडाकोट । पहिलो पटक मौलाकालिका मन्दिर दर्शन गर्न बुधबार बिहान गैंडाकोट आएका अर्थमन्त्री रामशरण महत त्यहाँको वातावरण देखेर धेरै नै मोहित भए...
-
King Mahendra started the patriotism game to enrich his henchmen. PM Oli is using the same to benefit his coterie When Samuel Johnson m...
-
मिस नेपाल २०१२ को बिजेता सृष्टि श्रेष्ठ चितवनको नारायणघाटमा जन्मेका हुन् । मिस नेपाल २०१२ मा सृष्टिले अरु १५ जना प्रतियोगीहरुलाई पछि पार्...